स्थानीय निकायको निर्वाचनको चहलपहल सुरू भइरहेको अवस्थामा म्याग्दीमा चुनावी चहपहललाई अवरोध गर्ने प्रयास गरिएको छ । अज्ञात समुहले बेनी नगरपालिकाको साइनबोर्डमा इनामेल र मंगला गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको थियो । एकैदिन नगरपालिका र गाउँपालिकामा गरिएका गतिविधिले चुनावी अभियानलाई रोक्न सक्रिय भएको देखिन्छ ।

मंगला गाउँपालिकाको कार्यालयको साइनबोर्ड निकालेर तालबन्दी गरिएको अवस्थामा प्रहरीले ताला तोडेर काम सुचारु गरेको थियो । स्थानीय निकायको निर्वाचनको तयारीमा सुरु भइरहेको अवस्थामा निर्वाचनको बहिस्कारमा जुटेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला प्रशासन, प्रहरी कार्यालय आसपास सहित ग्रामिण क्षेत्रमा समेत निर्वाचन बहिस्कारका पोष्टरहरू टाँस्दै बहिस्कार अभियानको सुरुवात गरेको छ । प्रहरीले नगरपालिका र गाउँपालिकाको तालाबन्दी गर्ने कार्यमा संलग्नको पहिचान गरी खोजीकार्य गरेको जनाएपनि पत्ता लाग्न सकेको छैन् ।

‘पहिचान भएको छैन । प्रहरीले खोजीकार्य गरिरहेको छ’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बेनीअनलाइनलाई भने । अवरोधको प्रयास भएपछि प्रहरीले गाउँपालिका र निर्वाचन कार्यालय सहित आवश्यक क्षेत्रमा निगरानी सुरु गरेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु चुनावी गतिविधि लिएर गाउँ पसेपछि चुनावी चहलपहलले ब्यापक पाएको छ । बेनी नगरपालिका र पाँच गाउँपालिका अन्र्तरगत रहेका वडासम्म सुरक्षाको पहुँच पुग्ने गरी संयन्त्र तयार भइरहेको छ । साधा पोशाकमा समेत प्रहरी परिचालन भइरहेको छ ।
अज्ञात समुहले साइनबोर्ड निकालेको मंगला गाउँपालिकाको कार्यालय ।