जिल्लामा धेरै सामाजिक संस्थाको नेतृत्व गरेकी अमृता भण्डारीको पाठेघरमा पलाएको साढे दुई किलोको ट्यूमर निकालियो । समाजमा महिलालाई सक्षम र आत्मनिर्भर बनाउने अभियानका लामो समय विताएकी भण्डारीको बेनी अस्पतालमा पाठेधर (आंङ) खस्ने रोगको निशुल्क उपचार शिविरमा करिव दुईघण्टा लगाएर सफलतापूर्वक अप्रेसन गरिएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तरगतको महिला उद्यम विकास समिति, लायन्स क्लव अफ दोभान, सहकारी अभियान्ता सहित महिलासंग सम्बन्धित दर्जनभन्दा बढी संस्थामा आवद्ध रहेकी भण्डारीको पाठेघरमा ट्यूम्र देखेपछि चिकित्सक समेत आश्चर्यमा परेका थिए । सहर देखी गाउँसम्म महिलालाई सक्षम बताउन सक्रिय रहेकी भण्डारी जस्तै सहरबजार क्षेत्रमा बसोबास गर्ने महिलाहरूले समेत पाठेघरको समस्यालाई बषौंसम्म लुकाएको चिकित्सकको भनाई छ । विहिबार देखी सुरु भएर मंगलबार समापना भएको शिविरमा ग्रामिण क्षेत्रका महिलाको तुलनामा बेनीबजार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने महिलाहरूको समेत भिड लागेको थियो ।

घरबाट दुईमिनेट नजिक रहेको अस्पतालमा पुग्न समेत साक्षर महिलाले लाज मानेर समस्या लुकाएको पाइएको बेनी अस्पतालका डा. धिरेन मल्लले बताउनुभयो । अस्पतालमार्फत जिल्लाका ग्रामिण क्षेत्रमा सञ्चालित स्याटेलाइट शिविरमा समेत पाठेघरमा समस्या भएका महिलाहरूको पहिचान भएपनि अप्रेसनका लागि जिल्लामा आउन स्वास्थ्य चौकीमार्फत अनुरोध गर्दा समेत बेवास्ता गर्ने गरेको डा.मल्लको भनाई छ।

६ दिनसम्म सञ्चालन भएको शिविरमा करिव ८ सय २० जना विरामीले सेवा लिएकोमा २६ जनाको अप्रेसन गरिएको थियो । पाठेघरमा ट्यूमर पलाएपछि अप्रेसन गरी पेटबाट समेत निकालिएको थियो । शिविरको दोस्रो दिनमै अपेक्षा गरेभन्दा धेरै विरामी शिविरीमा आएको बेनी अस्पतालका बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले बताउनुभयो । शिविरमा पाठेघरमा सामान्य मासु पलाएको भन्दै नियमित औषधी सेवन गरेर समेत निको नभएपछि पुगेका महिलाको समेत अप्रेसन गरिएको छ । शिविरमा बागलुङ र गुल्मी जिल्लाबाट समेत विरामी आएका थिए ।

सर्जरीको क्षेत्रमा कार्यरत चिकित्सकका अनुसन्धानका आधारमा जिल्लामा कुल जनसंख्या १ लाख भन्दा बढी भएमा करिव ५ हजार महिला पाठेघरको समस्याबाट ग्रसित भएको हुनसक्ने भएपनि समस्या देखिएको दशक पछाडी मात्रै उपचारको खोजी गर्ने गरिएकाले पनि समस्या जटिल बन्दै गइरहेको बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले बताउनुभयो । शिविरको समापन कार्यक्रमको अवसरमा सांसद नरदेवी पुनले महिलाले आफ्नो समस्या लुकाउने गरेकाले पनि पाठेघर डरलाग्दो समस्या बनेको बताउनुभयो । उहाँले आफुँले समेत पाठेघरको नियमित चेकजाँच नगर्दा दुई केजीको हाराहारीमा रहेको ट्यूमर निकालेको बताउँदै शिक्षित महिलामा स्वास्थ्य सम्बन्धि धेरै समस्या देखिएको बताउनुभयो ।

शिविरको समापनको अवसरमा पाठेघरको अप्रेसन गरेकी अमृता भण्डारीले आफुँले जिल्लामै उपचार गर्ने गरी केही महिना पिडा लुकाएको बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा देवदह मेडिकल कलेज शिक्षण अस्पताल रुपन्देहीको प्राविधिक सहयोगमा शिविर समापन भएको थियो । जिल्ला बाहिर महंगो खर्च हुने पाठेघरको अप्रेसन निशुल्क हुने भएकाले पाठेघरमा समस्या देखिएका महिलालाई लक्षित गरी लायन्स क्लव अफ, महिला आवद्ध सहकारी, विभिन्न संघसंस्थाले ब्यवस्थापन र स्वयमसेवकको भूमिका निर्वाह गरेका छन् ।