लोकप्रिय गायक खड्ग गर्वुजाको एकल लोक गायक कार्यक्रम हुने भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले बैशाख १६ गते काठमाण्डौस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमको तयारी तिब्र पारिएको छ । कलाकार कल्याणकारी कोषको स्थापना तथा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले आयोजित एकल गायनको बारेमा म्याग्दीको सदरमुकाम बेनीमा समेत विभिन्न संघसंस्थामा जानकारी सहित आर्थिक सहयोगको अनुरोध गरिएको छ ।

जिल्लाको मराङमा जन्मिएका गर्बुजाले २०४८ सालबाट औपचारिक गायन क्षेत्रमा प्रवेश गरेका थिए । करिव १ हजार गीतमा आफ्नो स्वर दिएका गर्बुजाको लोकप्रियता विश्वभर रहेका नेपालीमाझ रहेको छ । ओझेलमा परेका र नेपाली मौलिकतालाई गीतसंगितमा झल्काउने गरेका गर्बुजाले रेडियो नेपाल गीत गाएपछि धेरैजसो गीतले सांगितिक यात्रा सुरु गरेको केहीबर्षमै लोकप्रियता कमाएको थियो । विषेशगरी गाउँबस्तीका समस्या, जनजिवनलाई गीतमार्फत बजारमा ल्याउने गरेका गर्बुजालाई गाउँलेका गायक समेत भनेर चिन्ने गरिन्छ ।

कार्यक्रमको तयारीका बारेमा म्याग्दीमा समेत पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौकी प्रथम उपाध्यक्ष मिना गर्बुजाले पुरानो कला र संस्कृतिको संरक्षणका लागी खड्ग गर्बुजाको ठुलो योगदान रहेकाले उहाँको सम्मान स्वरुप कार्यक्रम गरिएको बताईन् । एकल गायनको मुख्य प्रयोजक म्याग्दी प्रवासी नेपाली संघले गरेको छ । त्यस्तै अस्टेलियाको सिड्नीमा रहेका म्याग्देली परिवार र मोना नेदरल्याण्ड सह प्रयोजक रहेको संघका सचिव राम गगनले बेनीअनलाइनलाई बताए । बेनीमा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष लाली बुढाथोकी र सदस्य एवम् गायक सञ्जन बोहोराले तयारीका बारेमा जानकारी गराएका थिए ।