(धु्रबसागर शर्मा)
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक गतिविधि बढेको छ । करिब ७२ हजार मतदाता रहेको म्याग्दीमा १ सय निर्वाचनस्थल कायम भएको छ । अन्य सयममा सदरमुकाम बेनीमा बसेर व्यापार, व्यवसाय र ठेक्कापट्टामा संलग्नहरु निर्वाचनको मुखमा गाउँगाउँमा राजनीतिक गतिविधिमा संलग्न रहेका छन ।

म्याग्दी जिल्लामा क्रियाशिल सबैजसो पार्टीका गाउँ कमिटीको नेतृत्वमा रहेकाहरु समेत अधिकांश सदरमुकाम बेनीमा बसोबास गर्ने गर्दछन । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर तयारीलाई तीव्र बनाएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलको गतिबिधि बढेको हो । गतिविधि सञ्चालनमा एक नम्बरमा एमाले, दुई नम्बरमा कांग्रेस र तीन नम्बरमा माओवादी केन्द्र रहेका छन ।

राजनीतिक दलहरुको गतिविधिसँगै जिल्लाको एक नगरपालिका र ५ गाउँपालिकाको प्रमुख र उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुमा उम्मेदवारी घोषणा गर्नेक्रम मात्रै बढेको छैन टिकटका लागि नेताको दैलो चाहर्नेक्रम पनि सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनै वटा दलभित्र आन्तरिक गुटबन्दी चरम रहेकोले उम्मेदवारी टुंग्याउन दलरुलाई कठिन छ । २० वर्षदेखि स्थानीय चुनाव नहुँदा नेतृत्वको आशा बोकेर पनि प्रतिस्पर्धामा सभागी हुन नपाएका कारण आकांक्षीहरु बढेका छन ।

स्थानीय तह अनुसार संगठन पुनःसंरचना
नेपाली कांग्रेस र नेकपा एमालेले स्थनीय तह अनुसार संगठन पुनःसंरचनाको काम पनि गरिसकेका छन । जस अनुसार नेपाली कांग्रेसले बेनी नगरपालिकाका संयोजकमा हरिकुमार श्रेष्ठलाई पार्टीको संयोजक तोकेको छ । अन्नपूर्ण गाउँपालिकामा क्या. डमवहादुर पुन, रघुगंगामा केवि भण्डारी, मंगला गाउँपालिकामा गोपाल भट्टचन,मालिकामा रेकवहादुर पुन र धौलागिरी गाउँपालिकामा तमवहादुर थापालाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

यस्तै नेकपा एमालेले बेनी नगरपालिकाको संयोजकमा प्रमोद श्रेष्ठ,मंगला गाउँपालिकामा प्रेमप्रकाश रेग्मी, मालिकामा कर्णवहादुर पुन, धौलागिरि गाउँपालिकामा देउप्रसाद छन्त्याल,अन्नपूर्णमा भरतपुन, रघुगंगा गाउँपालिकामा भने केन्द्र विवादका कारण नतोकिएको नेकपा एमालेले जनाएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि निर्वाचन केन्द्रित अभियानलाई गाउँगाउँमा सञ्चालन गरिरहेको छ । बेनी नगरपालिकाको संयोजकमा शेरवहादुर केसी,मंगला गाउँपालिकामा चन्द्र बूढाथोकी,धौलागिरि देवराज सुवेदी,अन्नपूर्णमा कुलविर राम्जाली,रघुगंगामा पुस्कर विक,मालिकामा कमल केसीलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी केही दिन भित्रमा नगरपालिका र गाउँपालिकामा संयोजकहरु चयन गर्ने जनाएको छ ।

बेनी नगरपालिकाका लागि मेयरमा चर्चामा रहेका नाम
गाउँगाउँमा मजवुत संगठन,विद्यालय व्यवस्थापन समिति,सामुदायिक वन उपभोक्ता समति,युवा क्लव,आमा समूह र विभिन्न विकास निर्माणका उपभोक्ता समितिहरुमा नेकपा एमालेको वर्चश्व रहेको हुँदा नगरमा फेरि पनि एमालेकै पल्लाभारी रहेको चर्चा छ । जित्ने निश्चितजस्तै भएकाले एमालेबाट मेयरका लागि धेरै आकांक्षी देखिएका छन । आकांक्षी धेरै देखिए पनि अन्ततः प्रमोद श्रेष्ठले नै टिकट पाउने अनुमान गरिएको छ ।

त्यसैगरी कांग्रेसले पनि नगरपालिकामा आफ्नो जित निश्चित भएको बताउँदै आएको छ । मेयरका लागि कांग्रेसमा पनि आकाँक्षीहरु धेरै देखिएका छन् । तर अन्तत ःकांग्रेसका पुराना नेता,वर्तमान कार्यसमितिका सचिव हरिकुमार श्रेष्ठले टिकटका लागि बाजी मार्ने आँकलन गरिएको छ ।त्यसैगरी नेकपा माओवादी (केन्द)्र म्याग्दीमा बेनी नगरपालिकाको मेयरको उम्मेदवारीका लागि शेरवहादुर केसी,चन्द्रवहादुर घिमिरे,कृष्णवहादुर थापा र विनोद केसीको नाम वाहिर आएको छ । त्यस्तै राप्रपामा निवर्तमान पार्टी अध्यक्ष एकेन्द्रवहादुर रावल र रुपनारायण श्रेष्ठको नाम वाहिर आएको भएपनि रावलको पक्षमा बढि सम्भावना रहेको छ ।

गाउँपालिकाको अध्यक्षमा लगाएतका पदाधिकारीहरुमा पनि धेरै आकाँक्षाीहरु देखिएका छन् । गाउँपालिका प्रमुखको उम्मेदवार चयनमा नेपाली कांग्रेस अरु दलभन्दा अगाडी देखिएको छ ।कांग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा क्या. डमवहादुर पुनलाई सर्वसम्मतरुपमा चयन गरेको छ भने अरु गाउँपालिकामा पनि चयन गर्ने प्रयास जारी रहेको छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिका वडा नं ६ को वडा अध्यक्षमा कृष्णप्रसाद बरुवाल उम्मेदवारमा छनोट हुनुभएको छ ।

टिकटको लागि तीव्र लबिङ
केन्द्रीय नेता र दलका कार्यालयमा टिकटका लागि आकांक्षीहरुको दौडधुप सुरु भइसकेको छ ।सबैभन्दा बढी नेपाली कांग्रेस र त्यसपछि एमाले र माओवादीका नेताहरु नेताको दैला चाहार्ने काममा व्यस्त छन । पार्टीहरुमा मौलाएको गुटका कारण स्थानीय तहमा काम गरेको आधारमा मात्रै टिकट पाइदैन भन्ने बुझेकाहरु नेताहरुको चाकरीमा लागेका छन । चोक, चौतारो र चियापसलमा हुने जमघटमा दलका नेता–कार्यकर्ताबीच कसले टिकट पाउँछ ? कसले निर्वाचन जित्छ ? भन्नेमा बहस हुन थालेको छ ।

पार्टी र जनताका लागि काम गरेका अनुहार छायाँमा
स्थानीय तहको निर्वाचनमा आफ्नो नाम चर्चामा ल्याउने र उम्मेदवारी घोषणा गर्नेको लहर नै चलेको छ । चर्चामा आएको पार्टीको महत्वपूर्ण जिम्मेवारीमा समेत रहेका कतिपय नेताहरु आफ्नै परिवारमा चुनाव जित्ने हैसित राख्दैनन् । पार्टी र जनता दुबैका लागि केही नगर्ने तर त्यही पार्टी र जनताको नाममा सर्वस्व लुटेका नेताहरु उम्मेदवारी घोषणमा कम छैनन । आफ्नै परिवारलाई समेत खुशी राख्न नसक्ने, विचार बुझाउन नसक्ने, समाजबाट समेत बहिष्कृतहरु उम्मेदवारीको चर्चामा रहेका छन् । तर तीनलाई आफ्नै परिवारबाट सतप्रतिशत मत ल्याउने हैसियतमा छैनन् । तीनैले पार्टी र जनताका लागि पनि काम गरेका अनुहारलाई चाहिँ छाया परिरहेका छन् ।