चन्दाबाट भकिम्लीको ठोट्नेरी गाउँमा सडक

0
152

बेनी नगरपालिका–३ भकिम्लीको ठोट्नेरीका स्थानीय बासिन्दाले चन्दा जुटाएर गाउँमा सडक पुर्‍याएका छन्। स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर साविक भकिम्ली गाविस–५ मा पर्ने डाँडाखानीदेखि ६ नम्बर वडा ठोट्नेरीसम्म जोड्ने छ किलोमिटर सडक निर्माण गरेका हुन् ।

साविक भकिम्ली गाविसले रु एक लाख अनुदान उपलब्ध गराएको डाँडाखानी–ठोट्नेरी सडक योजना सम्पन्न गर्न स्थानीय बासिन्दाले पाँच लाख चन्दा र एक लाख बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष धनबहादुर श्रीसले बताए।

सडक निर्माणका लागि धनलाल जैसीले एक लाख, भीम रोकाले ५० हजार, आमा समूहले ५० हजार, वीरबहादुर श्रीसले ३० हजार, खिमबहादुर छन्त्यालले २५ हजार र रुपा क्षेत्रीले २० हजार सहयोग गरेका थिए।

ठोट्नेरीका ७० घरधुरीले न्यूनतम पाँच हजार रुपैयाँका दरले चन्दा सहयोग गरेका छन् । बागलुङको धम्जा, सिगानासम्म पु¥याउने लक्ष्य राखिएको यो सडक निर्माण भएपछि ठोट्नेरीका स्थानीय बासिन्दालाई आवतजावत, सामान ढुवानी र कृषि तथा पशुजन्य उत्पादन निकासी गर्न सहज भएको छ । धार्मिक तथा पर्यटकीय स्थल स्वर्गाश्रमको विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । रासस