मदनकृष्णले भने,‘बेनीबजार संग मेरो छुट्टै सम्बन्ध छ’

0

चर्चित हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले बेनीबजार संग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन् । म्याग्दीको सदरमुकाम बेनीको न्युरोडमा अवस्थित समता स्कुलको उद्घाटनमा आएका श्रेष्ठले सुन्दर बेनीबजारसंग नाता जोडिएकाले पनि धेरैपटक आउन प्रयास गरेपनि सफल नभएको बताए ।

‘बेनीको बजार भन्ने गीत सुन्दा धेरै आनन्द आउँछ । मेरी श्रीमतिले गीत सुन्ने वित्तिकै अमेरिकामा छोरीलाई फोन गर्छिन’श्रेष्ठले भने । बेनीबजारका गोपाल श्रेष्ठ र हसुलीदेवी श्रेष्ठको छोरा हृदय श्रेष्ठ संग अमेरिकामा छोरीको विवाह भएपछि बेनीबजारसंग नाता जोडिएको समेत श्रेष्ठले बताए । मन्तब्यको क्रममा भविस्यमा समेत बेनीमा आउने प्रतिबद्धता उनले जनाएका थिए ।

समता स्कुलको उद्घाटनका लागि बरिष्ठ अभिनेता हरिबंश आचार्य, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बरिष्ठ सञ्चारकर्मी बिजय कुमार लगाएतको उपस्थितीमा भएको उद्घाटन कार्यक्रममा श्रेष्ठले करिव ३५ बर्षपछि पहिलोपटक बेनीमा आएको बताए । ‘महान अभियानमा उपस्थिती हुने अवसर मिलेको छ । सबैले यो विद्यालयलाई सहयोग गर्नुहोला’ श्रेष्ठले भने । उनले आफ्नो मन्तब्यको क्रममा नेपालमा समता स्कुलको स्थापनामा डा. उपेन्द्र महतोले १९ लाख रुपैयाँले सहयोग गरेर विद्यालयको स्थापना गरिएको बताए ।

विद्यालयको उद्घाटन महोत्तरीमा बोक्सीको आरोपमा अपमानित भएकी महिलाको हातबाट उद्घाटन गरिएको समेत बताए । समता स्कुलको अभियानमा सक्रिय रहेका श्रेष्ठले १ सय रुपैयाँमा शिक्षा उपलब्ध गराउने अभियान्ता उत्तम सञ्जेल प्रति समेत आभार ब्यक्त गरेका थिए । विद्यालयको उद्घाटनको अवसरमा क्याम्पसचोकस्थित भगवान श्रेष्ठको जग्गामा समेत विद्यालयको भवन शिलन्यास गरिएको छ । उद्घाटन कार्यक्रममा बेनीबजारबासीले दुवै चर्चित महजोडीसंग तस्विर समेत लिएका थिए । गत शैक्षिक सत्रदेखी सुरु भएको स्कुलको यसबर्ष उद्घाटन गरिएको हो ।