यसरी उद्घाटन गरियो बेनीमा एक सय रुपैयाँमा पढ्ने समता स्कुल

0

म्याग्दीको सदरमुकाम बेनीमा समता स्कुलको उद्घाटन गरिएको छ । संसारकै सबैभन्दा सस्तो विद्यालयको रुपमा चिनिएको समताको अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र बरिष्ठ संचारकर्मी विजय कुमारले उद्घाटन गरेका थिए । न्यूरोडमा रहेको विद्यालय उद्घाटनको अवसरमा बोल्दै बक्ताहरुले समताबाट निशुल्क शिक्षा लिएका विद्यार्थीले एसएलसी, उच्च शिक्षा लिएर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ती उत्पादन गरेको बताएका थिए ।

कार्यक्रममा बरिष्ठ अभिनेताद्धय मदनकृष्ण र हरिबंशले निजी विद्यालयमा चर्को शुल्क तिरेर पढ्ने विद्यार्थी र सरकारले निशुल्क गरेको सामुदायिक विद्यालयको विचबाट स्थापना भएपनि समताले छोटो समयमा उपलब्ध हासिल गरेको बताए । त्यस्तै बरिष्ठ सञ्चारकर्मी बिजयकुमारले अरुको निम्ति बत्ती बाले त्यसको उज्यालोमा आफुँपनि हिड्न पाइने भएकाले पनि आफ्नो क्षमता अनुसारको सहयोगका लागि अनुरोध गरे । उनले स्थानीयस्तरबाट सहयोग गर्दा धेरै विद्यार्थीले शिक्षा प्राप्त गर्ने समेत बताए । सोही अवसरमा एनआरएनएका संस्थापक डा.उपेन्द्र महतोले शिक्षाका लागि आफ्नो सहयोग निरन्तर रहने बताए ।

उनले विश्वमा नेपालीलाई पासर्पोट हेरेर गरिव देशका मानिस भन्दै तल्लोस्तरको ब्यवहार गर्ने गरिएको बताउँदै नेपालीलाई धनी भएको हेर्न समेत आफुँले सबै नेपालीले बोक्ने पासर्पोटको प्रयोग गर्ने गरेको बताए । समता स्कुलको हरेक अभियानमा आफ्नो प्रत्यक्ष संलग्नता रहने समेत उनले प्रष्ट पारे । ‘मेरो छोराछोरीलाई पनि यो विद्यालयको शिक्षा देखाउँछु, उनीहरुको खर्चबाट बचत गरेर उहाँ सहयोग गर्ने गरेको छु’ उनले भने । उद्घाटनको अवसरमा विद्यालयकी प्रिन्सिपल बेविना थापाले स्वागत गदैं क्षमता भन्दा धेरै विद्यार्थीले समस्या भएको बताउँदै अभिभावकका साथै जग्गादाताबाट समेत राम्रो सहयोग भएको बताईन् । समता विद्यालयका संस्थापक उत्तम सञ्जेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।

मासिक शुल्क १ सय रुपैयाँ र भर्ना १ सय ५० अंग्रेजी माध्यमबाट विद्यार्थीले पढ्ने गरेका छन् । गत शैक्षिक सत्रबाट सुरु भएको स्कुलको एकबर्ष पछि उद्घाटन गरिएको थियो । समता स्कुल देशका ५३ जिल्लामा स्थापना भएको छ । देशभर ५० हजार विद्यार्थी अध्ययरत छन् । देशको एउटा जिल्लामा भर्ना भएर अर्को जिल्लामा बसाई सरेर गएकाले त्यहाँको समता स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई शुल्क समेत लाग्दैन् । पुर्व विद्यार्थीहरू समेत शिक्षालाई गुणस्तरीय बनाउने अभियानमा सहयोग गरिरहेका छन् । यसैविच क्याम्पचोक नजिक विद्यालयको भवनको समेत शिलन्यास गरिएको छ ।