केहीबर्ष अगाडी बेनीबजारमा लभ्लीहिललाई आर्कषक पर्यटकीय गन्तब्य बनाउने विषयमा छलफल गरियो । बेनी नगरपालिका–२ ज्यामरुकोटको खवरामा रहेको डाँडालाई यूवायूवतीले डेटिङ स्पटको रुपमा प्रयोग गरेपछि लभ्लीहिलबाट नामाकरण गरिएको डाँडामा पुग्ने पदमार्ग, रेष्टुरेन्ट, भ्यू टावर, पौडीखेल्ने स्थान लगाएत बालबालिका देखी बृद्धबृद्धासम्मलाई रमाउनेस्थलको रुपमा स्थापित गर्ने विषयमा छलफल भएपनि विभिन्न कारणले योजना अलपत्र अवस्थामा छ ।

केही बर्ष यता दैनिकजसो समुह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरी पर्यटकीय गन्तब्य बनाउन सकिने म्याग्दीका पर्यटन ब्यवसायीहरूको भनाई छ । सदरमुकाम बेनी आसपासमा ब्यस्त दैनिकीबाट आराम गर्न तथा देशका विभिन्न जिल्लाबाट मुस्ताङ आवतजावन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न स्थानीय सहित सरोकारावाला निकायले पूर्वाधार विस्तारमा चासो देखाउनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बेनीअनलाइनलाई बताए । ‘अव बेनीबजार आसपासका क्षेत्रका सम्भावनामा पूर्वाधार विस्तार गर्नुपर्छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई एकदिन बेनीमै रोक्न सक्ने गरी पूर्वाधार आवश्यक छ’ बानियाँले भने ।

बेनी नगरपालिका भित्र विश्वमै महत्व भएका धार्मिकस्थलहरु भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनले बताए । बेनीबाट करिव २५ देखी आधा घण्टाको दुरीमा अवस्थित लभ्लीहिलबाट बेनीबजार, पर्वतबेनी, गलेश्वर, पुलाचौरको पुलाआश्रम, जगन्नाथ मन्दिर सहित आसपासका क्षेत्रका साथै धौलागिरि, अन्नपुर्णहिमाल र सुर्यदयको समेत अवलोकन गर्न सकिन्छ ।

बेनीबजार आसपासको क्षेत्रबाट बग्ने म्याग्दी र कालिगण्डकीको बाहव लगाएत आर्कषक दृष्यहरुको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तब्य भएकाले पनि पुर्वाधार र प्रचारप्रसार भए आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको बानियाँको भनाई छ । आवश्यक पूर्वाधार भए आन्तरिक रुपमै समेत धेरै चहलपहल हुनसक्ने र बाहिरबाट आएकाले समेत एकदिनको बसाईमा आर्थिक कारोबार बढाउने भएकाले पनि नगरपालिकाको गुरुयोजनाभित्र राख्नुपर्नेमा सरोकारवालाको भनाई छ ।

स्थानीय तहको पुर्नसंरचना लगत्तै बेनी नगरपालिका र पाँच गाउँपालिका भएको म्याग्दीको सदरमुकाम बेनीमा हुने आर्थिक सहित प्रशासनीक चहलपहल समेत घट्ने अवस्थामा आन्तरिक तथा बाहिरी जिल्लाबाट आएकालाई पर्यटकीयस्थलमा पूर्वाधार र नयाँ पर्यटकीय गन्तब्य बनाउनुपर्ने नगरबासीको भनाई छ । स्थानीय निकायको निर्वाचनको तयारी सुरु भएपछि नगरपालिकाको नेतृत्वमा आउनेले नगरपालिको रुपरेखामा कस्ता योजनाहरुलाई समावेश गर्छ भन्नेमा नगरबासीको चासो रहेको छ । बेनी नगरपालिका भित्र नयाँ गन्तब्यमा भकिम्लीको स्वार्गाआश्रम, बेलढुंगा लगाएतका नयाँ र पर्यटकलाई लोभाउने पर्यटकीयस्थलहरु समेत रहेका छन् ।

विज्ञापन