मुस्ताङको कागबेनी र मुक्तिनाथमा यात्रु लिएर गएका म्याग्दीका दुई चालक कुटिएका छन् । बेनी–मुस्ताङ सडकमा सिन्डिकेटको अन्त्यको घोषणा गरिएपनि मुक्तिनाथ क्षेत्रमा प्रवेश गरेको भन्दै दुईवटा सवारीसाधनका चालकलाई कुटपिट गरेका थिए । जोमसोमबाट मुक्तिनाथ तर्फ गइरहेको ग १ ख ५७४८ नम्बरको बस चालक अक्कल तामाङलाई मुक्तिनाथ र ना ५ क ३९६९ का चालक चालक भरत नेपालीलाई कागबेनी नजिक कुटपिट गरिएको पिडितले बताएका छन् ।

तामाङको आँखा र मुखमा र नेपालीको टाउको र मुखमा चोट लागेको सहचालक विबेक केसीले बताए ।‘हाम्रो क्षेत्रमा प्रवेश गरेको भन्दै एक्कासी हातपात गरे । मुक्तिनाथमा आफ्ना सवारीसाधन मात्रै चल्नपर्छ भन्दै लगातार कुटपिट गरे’ नेपालीले बेनीअनलाइनलाई भने । उनले यात्रुको अगाडी कुटिएपछि प्रहरीलाई जानकारी गराउँदा सहयोग नभएको गुनासो गरे । मुक्तिनाथमा गाविसका अगुवा र अन्यले समेत विना जानकारी प्रवेश गरेको भन्दै अवरोधको प्रयास गरेको समेत उनले बताए । जोमसोममा प्रहरीलाई प्रमिट देखाएर मुक्तिनाथ तर्फ गएका दुईवटा बसका चालहलाई कुटपिट गरेको बारेमा प्रहरीले समेत उजुरी आएको बताएपनि घटनाका बारेमा प्रष्ट जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

निवदेन सहित पिडित प्रहरीकोमा उपस्थित भएका थिए । चोट लागेका चालकलाई उल्टै मापासेको आरोपमा फसाउन खोजेको गुनासो समेत गरेका छन् । ‘चालक कुटिएको विषयमा सम्बन्धित निकायमा जानकारी पुगिसकेको छ । अझै सिन्डिकेटको मानसिकतामा बसेकाहरुलाई कारवाही हुनुपर्छ’ म्याग्दी जिप तथा बस सञ्चालक समितिका मोहन केसीले भने । उनले कुटपिटका सम्बन्धमा अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा समेत जानकारी गराएको बताए । घाईते चालकले समेत प्रहरीबाट सुरक्षा माग गरेको केसीको भनाई छ । कुटपिटमा संलग्नको नाम र प्रयोग भएको सवारीसाधनको समेत पहिचान गरेर किटानी उजुरी दिने पिडितले बताएका छन् । बसको फाइल तस्विर