म्याग्दीमा उम्मेदवारका लागि पुरुषकै वर्चश्वः महिला उम्मेदवारको चर्चा नै छैन

0

(धु्रबसागर शर्मा)
वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार बन्नका लागि राजनीतिक दलभित्र पुरुष उम्मेदवारहरुको चर्चा परिचर्चा र दौडधुप सुरु भएपनि म्याग्दीका राजनीतिक दलहरु महिला उम्मेदवारहरुको बारेमा भने मौन रहेका छन् । म्याग्दीको बेनी नगरपालिमा प्रमुख, उपप्रमुख तथा पाँचवटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य उम्मेदवारमा पुरुषहरुकै नाम चर्चामा रहेको छ ।

संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिने दलले एउटा पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने व्यवस्था गरेको छ । प्रमुख वा उपप्रमुख पदमा उम्मेदवार बन्न महिला नेतृहरू उत्साहित भए पनि महिला उम्मेदवारको भने कुनै दलमा पनि चर्चा समेत छैन ।स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न करिब दुई दशकपछि हुन लागेको निर्वाचनमा उम्मेदवारका लागि महिलाहरुले आकांक्षा राखेको भएपनि उनीहरु अहिले छायाँमा परेका छन् ।

उम्मेदवारको टिकट पाउनका लागि र आफ्नो पक्षमा माहौल बनाउन आकांक्षीहरुले भेटघाट, छलफल र अन्तरक्रियालाई तीव्रता दिएका छन् । जिल्ला निर्वाचन कार्यालयमा १२ वटा राजनीतिक दल दर्ता भए पनि खासगरी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपामा उम्मेदवारका आकाँक्षीको सक्रियता बढेको छ ।

कुन पार्टीले कसलाई उम्मेदवार बनाउँछन् भन्ने चासो आम मतदातामा समेत बढेको छ । बेनी नगरपालिका, अन्नपूर्ण, मालीका, मंगला र धौलागिरि गाउँपालिकामा राजनीतिक दलहरूले उम्मेदवार छनोटको तयारी गरे पनि केन्द्र विवादका कारण रघुगंगा गाउँपालिकामा निर्वाचनको वातावरण बन्न सकेको छैन ।
राजनीतिक दलहरूले नयाँ संरचनाको स्थानीय तहअनुसार पार्टीको संरचना निर्माणसँगै उम्मेदवार छनोटको तयारी गरेका छन् । चारवटै दलले स्थानीय तहमा संयोजक र उपसंयोजक तोकेर चुनावी गतिविधिका लागि नेता कार्यकर्तालाई परिचालन गरेका छन् । बेनी नगरपालिकाको प्रमुख (मेयर)को उम्मेदवार बन्नका लागि नेपाली काँग्रेसमा जिल्ला सचिव हरिकुमार श्रेष्ठ, क्या.मीनबहादुर कार्की, नेत्रबहादुर महत, अनोद श्रेष्ठ, अमृतादेवी बानियाँ, रुद्रबहादुर केसी र विमला गौचन देखिनुभएको छ ।

नेकपा एमालेमा मेयरको उम्मेदवारमा जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी, मुना बानियाँ, राजकुमार थापा, देवबहादुर घलेको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्रमा कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमिरे,रामवहादुर कार्की,शेरबहादुर केसी, ज्योती लामिछाने, कुशल पौडेल, विनोद केसी र कुमार किसान आकांक्षी देखिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट मेयरको उम्मेदवार बन्न पूर्व जिल्ला अध्यक्ष एकेन्द्र रावल, रुपनारायण श्रेष्ठ आकांक्षी हुनुहुन्छ । जिल्ला अध्यक्ष वीरबहादुर थापा भने आफ्नो जन्मथलो भकिम्लीकै वडामा उठ्ने मनस्थितिमा हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उम्मेदवार घोषणामा नेपाली काँग्रेसले सबैलाई उछिनेको छ । चैत दोस्रो हप्ता शिखमा भएको नेपाली काँग्रेसको गाउँपालिका स्तरीय कार्यकर्ता भेलाले घोडेपानीका होटल व्यवसायी भारतीय सेनाका निवृत्त क्याप्टेन डमबहादुर पुनलाई गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेर प्रचारप्रसार सुरु गरिसकेको छ । जिल्ला सदस्य कृष्णप्रसाद बरुवाललाई शनिबार घारमा सम्पन्न वडा भेलाले वडा नं. छ को अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा एमालेमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न भरत पुन, नारायण पुन, गोकुल बरुवाल, श्याम राना, तेजबहादुर गुरुङको दावी छ । माओवादी केन्द्रबाट कुलवीर राम्जाली, सुवास विक, बागबीर पाइजा, बुद्धि पुन र जसबहादुर तिलिजामध्ये एकजना अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने सम्भावना छ । राप्रपामा तीर्थ खड्का, मोहन पूर्जा, देवीन तुलाचन र सरोज गौचन सम्भावित उम्मेदवारका रूपमा देखिनुभएको छ ।
रघुगंगा गाउँपालिकाको केन्द्रको विवाद रहेकाले राजनीतिक दलहरूले अन्य स्थानीय तहमा जस्तो राजनीतिक गतिविधि अगाडि बढाउन सकेका छैनन् । भगवती, पिप्ले र बेगका बासिन्दाले केन्द्रको विवाद समाधान नहुँदासम्म राजनीतिक गतिविधि गर्न नदिने अडान र चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
सो गाउँपालिकाको केन्द्र पाखापानी कायम भएको छ । भगवती, पिप्ले र बेगका बासिन्दाले मौवाफाँट केन्द्र बनाउनुपर्ने माग गरेका छन् ।
मंगला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट जितेन्द्र पुन, गोपाल भट्टचन, धु्रव कार्की, श्रीराम पौडेल र चक्रपाणि आचार्य उम्मेदवार बन्ने चर्चा छ ।
नेकपा एमालेबाट प्रेमप्रसाद रेग्मी, सतप्रसाद रोका, शंकर शेरचन आकाङ्क्षी देखिनुभएको छ । नेकपा माओवादी केन्द्रमा देवराज सुवेदी, पुस्कर विक, चन्द्रप्रसाद बुढाथोकी र सुकमाया रोकाको चर्चा छ भने राप्रपाबाट विनोद भट्टचन सम्भावित उम्मेदवारको रूपमा हुनुहुन्छ । मालीका गाउँपालिकामा नेपाली काँगे्रसका श्रीप्रसाद रोका र रेकप्रसाद पुनको चर्चा भए पनि श्रीप्रसाद रोकालाई उम्मेदवार बनाउने निर्णय भएको काँग्रेस स्रोतले बताएको छ ।

एमालेका मोतीराज गौतम, बेगप्रसाद गर्बुजा, कर्ण रोका, माओवादी केन्द्रमा कमल केसी, गोविन सिउथानी, सरस्वती पुन र लालमाया पाइजा अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ भने राप्रपाबाट चक्रपाणि कँडेलले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

धौलागिरि गाउँपालिकामा नेपाली काँग्रेसका तमबहादुर थापा, कमल छन्त्याल, डिलबहादुर केसी, चकबहादुर मल्ल, डम्मर भण्डारी र मीनबहादुर भण्डारी, एमालेमा देउप्रसाद छन्त्याल, थमसरा पुन, रेशम भण्डारी, सुनेश केसी, माओवादी केन्द्रका यामन रोका, भेषनाथ गौतम, झकबहादुर छन्त्याल, देवबहादुर थापा अध्यक्षको सम्भावित उम्मेदवारको रूपमा देखिनुभएको छ ।सबैजसो पार्टीले उम्मेदवार छनोटका लागि सिफारिस गर्ने अधिकार सम्बन्धित नगर, गाउँपालिका र वडा समितिलाई दिएका छन् । वडा, गाउँ र नगरपालिका कमिटीले सिफारिस गरेका सम्भावित नामलाई संस्थागतरूपमा सर्वसहमतिमै एकजनालाई उम्मेदवार बनाउने दलका जिल्ला स्तरीय नेताहरूले बताएका छन् ।

म्याग्दीका पाँचवटा स्थानीय तहमा ४७ वटा वडा छन् । बेनी नगरपालिकामा सबैभन्दा धेरै १० वटा वडा छन् । एकजना मतदाताले स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षसहित चारजना सदस्य गरी सात जनालाई मतदान गर्नुपर्छ । उम्मेदवार छनोटका लागि निरन्तरता, अनुशासित, विकासमा अग्रसर र लोकप्रियतालगायतका आधार दलहरूले बनाएका छन् ।यसरी म्याग्दीका सबै स्थानीय तहमा उम्मेदवारका लागि दौडधुप सुरु भएता पनि महिला उम्मेदवारको भने कुनै दलले पनि टुङ्गो लगाइसकेका छैनन् । नत महिला उम्मेदवारका लागि कुनै छलफल गरिएको छ न महिलाहरुको आकांक्षालाई प्राथमिकतामा राखिएको छ ।