नेपाली युवा वैज्ञानिक भविन्द्र कुवँरको अनुसन्धानवारेको समाचार विभिन्न छापा र विद्युतीय संचारमाध्यमहरुबाट प्रकाशन÷प्रशारण भएपछि संसारभरबाट विभिन्न प्रतिक्रियाहरु प्राप्त भएका छन् । दुई महिनाको अवधिमा भविन्द्रले आविष्कार÷अनुसन्धान गरेका तीनवटा उपकरण र सिद्धान्तहरुका समाचार प्रकाशन गरेपछि राष्ट्रिय÷अन्तराष्ट्रियरुपमा ती समाचारहरुको व्यापक चर्चा भएको छ ।

पछिल्लो समयमा खोजकर्ता भविन्द्र कुँवरका अनुसन्धानसम्बन्धी समाचारहरु पढेर विभिन्न प्रतिक्रियाहरु आएका छन् । यस सम्बन्धमा अनुसन्धानकर्ता कुँवरले चाहिँ वैज्ञानिक अनुसन्धानका प्रक्रिया, विश्वव्यापी पद्धति र प्रमाणका आधारहरुमा संसारभरि एकरुपता हुने तर त्यो एकरुपताबारे सबैलाई थाह हुन्छ भन्न नसकिने बताउनुभयोे । उहाँले भौतिक विज्ञानको फैसला गर्ने सर्वोच्च अदालत प्रयोगशाला भएको बताउनुभएको छ ।

अनुसन्धान प्रामाणित हुनु भनेको के हो ? धेरैको जिज्ञासा रहेको छ । यस विषयमा युवा वैज्ञानिक भविन्द्रले ‘सबैले स्वीकार गरेका वैज्ञानिक पद्धतिबाट अनुसन्धानलाई पूर्णता दिनु नै एकमात्र उपाय भएको बताउनुभयो । विगत २६ वर्षदेखि विज्ञानका क्षेत्रमा रुचि देखाउँदै आएका म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोट स्थाई घर भै हाल चितवनमा रहेका कुवँरले पछिल्लो दशकमा फरकफरक परीक्षण, यन्त्र निर्माण र अनुसन्धान गर्दै आउनुभएको छ ।

राससप्रतिनिधिलाई प्राप्त प्रतिक्रियाहरुमध्ये अधिकाँशले ‘आफूले जानेको भाषामा लेखेर अनुसन्धान हुन सक्दैन । अन्तर्राष्ट्रिय भाषामा नै अनुसन्धान गर्नुपर्छ । नत्र त्यो स्वीकृत हुन सक्दैन भन्ने प्रतिक्रिया धेरैको रहेको छ । यस विषयमा युवा वैज्ञानिक कुँवरले ‘संसारको कुनै पनि अनुसन्धानलाई आवश्यकताअनुसार जुनकुनै भाषामा अनुवाद गर्न सकिने र भाषा अनुसन्धानका लागि बाधक नहुने बताउनुभयो ।

नेपालमा बसेर भौतिक विज्ञानसम्बन्धी अनुसन्धानहरु गर्नै सकिँदैन भन्ने प्रतिक्रिया र धारणाहरुले नेपाली युवाहरुमा हीन भावना विकास गराइरहेको कुँवरको धारणा छ । यस खालका धारणाहरु विकास हुँदा राष्ट्रमा अनुसन्धानकर्ताहरु रहने सम्भावना कम हुने पनि बताउँदै कुँवरले भन्नुभयोे ‘राज्यले नेपाली भाषामा भएगरेका अनुसन्धानलाई ध्यान दिएको आभास हुन सकेको छैन ।’

नेपालीहरुमा आफ्नै आँखाले देखेर मापन गर्दासमेत प्राप्त परिमाणबारे भन्न नसक्ने असाध्यै दुःखद अवस्था रहेको कुँवर बताउनुहुन्छ ।‘सीधा छ भनेर चिनाएको रेखा बाङ्गो देखेपछि नापेरै बाङ्गो प्रमाणित गर्दा पनि अरुले नभनिदिएसम्म बाङ्गो भन्न हुँदैन भन्ने भ्रामक प्रचारप्रसारले नेपालीको मात्र होइन संसारका धेरै अनुसन्धानकर्ताहरुको मानसिकता नराम्ररी गिरेको छ । यसले गर्दा मानवजातिका लागि उपयोगी हुने कतिपय चीजहरु त्यसै हराएर गएका छन् ।’ कुवँरले भन्नुभयो ।

जर्नलमा प्रकाशित नभएसम्म कुनै पनि अनुसन्धानपत्र प्रमाणित भएको मानिँदैन भन्ने धारणा विद्यमान रहेको पनि प्रतिक्रियाहरुमा देखिएको छ । कुँवर भने परीक्षण गर्दा सही देखिँदैन भने विश्वको जुनसुकै जर्नलमा प्रकाशित गरे पनि अनुसन्धानपत्र विश्वसनीय हुँदैनन् भन्नुहुन्छ । स्वतन्त्र अनुसन्धान र कुनै शिक्षण संस्थाको प्रयोजनका लागि गरिने अनुसन्धानका प्रक्रियागत अन्तरहरुबारे थाह नपाउँदा पनि नकारात्मक धारणाहरु आउने उहाँले बताउनुभयो ।

कुनै प्रकाशन गृहका ब्रान्ड र व्यक्तिका हाइ–प्रोफाइल आफैमा विश्वसनीयताको एउटा आधार हो तर प्रमाणको सम्पूर्ण आधार भने होइन भन्दै कुँवर भन्नुहुन्छ । कसैको व्यक्तिगत लोकप्रियता वा पदीय उचाइको प्रभावमा परेर प्रकृतिले स्वभाव परिवर्तन गरिदिन मान्दैन । बरु सबै भौतिक शास्त्रीहरुले प्रकृतिको वास्तविक स्वभावअनुरुप आफू र आफू आबद्ध जर्नल वा अनुसन्धान केन्द्रहरुलाई सुधार गर्नुको कुनै विकल्प हुँदैन ।’

कुवँरले वि. ंसं. २०६८ सालमा एउटा पुस्तक पनि प्रकाशन गरेका थिए । जम्मा ७८ पृष्ठको उक्त पुस्तकमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट), त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र केन्द्रीय विभाग, काठमाडौँ विश्वविद्यालय लगाएत दर्जनौँ शिक्षण संस्था तथा अनुसन्धान केन्द्रहरुमा परीक्षण प्रदर्शन गर्दै हिँड्दा भोगेका राम्रा र नराम्रा अनुभवहरुलाई समेटिएको छ ।

भौतिक शास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. डा. लोकनारायण झाले चाहिँ कुँवरका कार्यहरु अघि बढाउन सबैले आआफ्ना स्थानबाट पहल गर्नुपर्ने बताउनुभएको छ । “कुँवरले अघि सारेको विषयलाई सबै संस्थाहरुले सहकार्य गरी अघि बढाउन सुझाव दिइन्छ” त्रि.वि.का तर्फबाट झाले दिएको एउटा पत्रमा उल्लेख गरिएको छ ।

प्रा. डा. विद्यानाथ कोइरालाले नेपालीहरुमा बाउन्स शैलीको बौद्धिक परम्परा भएको बताउनु भयोे । हातमा भएको बल कुनै भित्तो वा चौरमा ठोक्एिर फर्किएपछि छोपेझैँ नेपाली बुद्धिजीवीहरुमा आफ्नो देशमा भएगरेका कुराहरु अरु कसैले हो भनिदिएर फिर्ता आएपछिमात्र हो भन्ने समस्या रहेको धारणा कोइरालाको थियो ।।

कुँवरले गरेको विस्थापित तरल पदार्थसम्बन्धी अनुसन्धानका सम्बन्धमा काठमाडौँका केही शिक्षण संस्थाहरुले महिनौ लगाएर परीक्षण गरी कुँवरको सिद्धान्त सही भएको र आफूहरु पनि सहमत भएको भनी सिफारिसपत्रहरु दिएका छन् । लामो परीक्षणपछि काठमाडौँ मोडेल कलेज, युनिभर्सल उच्च माध्यमिक विद्यालय, हेराल्ड इन्टरनेशनल कलेज लगाएतले त्यस्ता सिफारिसपत्रहरु दिएका छन् । ती कलेजहरुका प्रयोगशालका रिपोर्ट हेरेपछि सो विषयलाई लिएर एउटा राष्ट्रिय दैनिक (नयाँ पत्रिका) ले सम्पादकीय समेत लेखेको थियो ।

प्रतिक्रियाहरुमा केहीले प्रामाणिक र सैद्धान्तिक भौतिक शास्त्रको इतिहासमा आजसम्मको सबैभन्दा ठूलो कार्य भनेका छन् । केहीले भने अनुसन्धानपत्रमात्र होइन समाचारै मात्र पनि प्रयाप्त जानकारीमूलक भएको प्रतिक्रिया दिएका छन् । केही अनुसन्धानकर्ताहरुले पटकपटक विषयवस्तुबारे प्रश्नोत्तर गरी हामी पूर्णतः सहमत छौँ भनी इमेलमार्फत् प्रतिक्रिया पठाएका छन् ।

खोजकर्ता कुँवर हाल भौतिक शास्त्र पुननिर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । उक्त अभियानको उपाध्यक्षमा उप. प्रा. विष्णु ज्ञवाली, महासचिवमा नवीन भावुक, सहसचिवमा नवराज घिमिरे र कोषाध्यक्षमा केशव पुन रहेका छन् । अभियानले देशका विभिन्न शिक्षण संस्था र अनुसन्धानकेन्द्रहरुमा परीक्षण प्रदर्शन गर्दै र प्रवचन प्रस्तुत गर्दै आएको छ र केही शाखाहरु पनि गठन गरेको छ । प्रा. डा. लोकनारायण झाले ०६५ सालमा एक भाषणमा दिएको सुझावपछि यस्तो अभियानमूलक क्रियाकलापको अगाडि बढाइएको कुँवरले बताउनुभयो ।

प्रमाणसम्बन्धी भ्रम र वास्तविकताहरु केके हुन् ?

कुनै पनि अनुसन्धानपत्र कुनै जर्नलमा प्रकाशित हुनु राम्रो भए पनि जर्नलबाहेक अन्यत्र प्रकाशन गरिनु व्यर्थ हो भन्नु सरासर गलत हुने कुँवरले बताउँछन् । जर्नलमा प्रकाशित हुँदासाथ सिद्धान्त प्रमाणित भएको मान्नुपर्छ भन्ने सोच्नु अज्ञानता हो । परीक्षणबाट स्पष्ट देखाउन सकिएन भने जहाँ लगेर छापे पनि ती सबै कार्यहरु अप्रमाणित वा अविज्ञानभित्र पर्दछन्, खोजकर्ता कुँवरले स्पष्ट पार्नुभयो ।

अबरोधहीन क्षेत्रमा एकनास बल लगानी भएका बेला वस्तुले समान समयान्तरालहरुमा पार गर्ने विस्थापनका मात्राहरु १ मिटर, २ मिटर, ३ मिटर र ४ मिटर देखिएका खन्डमा ती परिमाणहरु जोड्दा प्राप्त हुने जम्मा विस्थापन १० मिटर हुन्छ तर आजसम्मका जर्नलहरुमा प्रकाशित अनुसन्धानपत्र र पाठ्यपुस्तकहरुमा भने तिनीहरुको योग ८ मिटर हुने सूत्रको प्रयोग हुँदै आएको छ । विस्थापनको मात्रा १० मिटर हुने सूत्र बनेकै थिएन । के विश्वप्रसिद्ध जर्नलमा प्रकाशित भए भन्दैमा ती सबै अनुसन्धानपत्रहरु प्रमाणित भइराख्लान् ? ‘सुव्रतका केही प्रभावहरु’ लेखमा यसबारे अध्ययन गर्न सुझाव दिँदै कुँवरले प्रतिप्रश्न गर्नुभयो ।

विज्ञानमा कुनै अनुसन्धान प्रमाणित हुनका लागि कम्तीमा पनि पूर्वकार्यको अध्ययन, लक्षित कार्यको नवीनता र औचित्यको पुष्टि, सम्बन्धित विषयको अवलोकन, विषयकेन्द्री परिकल्पना, प्रयोगशालीय वा गणितीय परीक्षण र निष्कर्ष तथा निर्णयीकरण जस्ता वैज्ञानिक पद्धतिहरु अवलम्बन गरिनु आवश्यक हुन जाने बताउँदै कुँवरले भन्नुभयोे, यीबाहेक अन्य पक्षहरु पनि आवश्यक हुन्छन् तर प्रयोगशालीय परीक्षण सबैभन्दा प्रमुख र केन्द्रीय प्रमाण हो ।

परीक्षणदेखि टाढा रहने र प्रमाणविहीन लेख्य संरचनालाई अनुसन्धान मान्न नहुने प्रष्ट्याउँदै कुँवरले भन्नुभयोे, भौतिक विज्ञानको फैसला गर्ने सर्वोच्च अदालत प्रयोगशाला हो, प्रमाण प्रकृतिको स्वभावमा निहित हुन्छ, बहश परीक्षणकर्ताहरुले गर्दछन् ।

कुँवरले अनुसन्धानकर्ता, अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुले प्रयोगशालामा आउने नतिजालाई स्वीकार र शिरोपर गर्ने बताउँदै भौतिक विज्ञानमा प्रयोगशालाले दिने फैसला कुनै पनि मानवीय शक्ति वा बहुमतबाट परिवर्तन गर्न नमिल्ने यथार्थ प्रस्तुत गर्नुभयो । परीक्षणदेखि डराउने अनुसन्धानहरु वैज्ञानिक अनुसन्धान होइनन्, ती केवल प्राविधिक रुपमा विधि पुराइएका लेख्य संरचनाहरुमात्र हुन्, उहाँले अनुसन्धानसम्बन्धी भ्रमबारे थप स्पष्ट पार्नुभयो । ध्ुा्रबसागर शर्मा/रासस

विज्ञापन