स्थानीय निकायको निर्वाचनको तयारी तिब्र भइरहेको अवस्थामा म्याग्दीको भकिम्लीमा स्वतन्त्र प्यानलको घोषणा भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा पदम पुन वडा अध्यक्षमा स्वतन्त्रबाट उठ्ने घोषण गरेका छन् । साविकको भकिम्ली–१ मुसुङका स्थानीय एवम् गाउँमा समाजसेवी समेत रहेका पुनलाई भकिम्लीका विभिन्न गाउँबाट सर्मथन समेत प्राप्त भएको छ । बेनी नगरपालिकाको नयाँ वडा समेत रहेको भकिम्लीलाई विकास सहित आवश्यक पुर्वाधार विस्तारमा समेत सहयोगी भूमिका निर्वाह गरिरहेका पुन माओवादी विभाजन भएपछि निस्कृय अवस्थामा रहेका थिए ।

जयन्ती माविका ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुन २०५८ सालमा गाउँकै मुसुङडोले निमावीबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि दुईबर्ष जेल जिवन विताएका पुन ०६० सालमा शिक्षक पेशा छोडेर माओवादी जनयूद्धमा होमिएका थिए । माओवादी जनयूद्धमा धेरै फौजी हमालामा समेत सहभागि भएका पुन माओवादीको राज्य समितिका सचिवालय सदस्य सहित पार्टीका धेरै जिम्मेबारी समेत सम्हालेका थिए । बाल्यकालदेखी नै बामपन्थी विचारबाट आर्कषित पुनको अध्यक्षतामा जयन्ती माविमा करिव ३ करोडको लगानीमा विद्यालयको भवन निर्माण भइरहेको छ ।

स्वदेश तथा विदेशबाट आर्थिक संकलन गरेर निर्माण भइरहेको विद्यालयको भवन सहित गाउँमा सडक, खानेपानी लगाएतका विकास निर्माणमा अगुवाको भूमिका निर्वाह गरेका छन् । स्वतन्त्र प्यानलमा भकिम्ली भु्कभुकेका रत्न जिसी सहित माओवादी केन्द्रमा आवद्ध रहेका यूवाहरूले समेत साथ दिने संकेत देखिएको छ । स्वतन्त्र प्यानलबाट सकेसम्म सहमतिको प्रयास गरिने भएको छ । सहमतिको प्रयास असफल भए अन्तिममा अन्य पदमा समेत उम्मेदवारीको घोषणा हुने समेत जनाइएको छ ।

गाउँमा बाख्रापालनमा समेत ब्यस्त रहेका पुनले वडा अध्यक्षमा उम्मेदवारीको घोषणा गरेपनि वडास्तरको निर्वाचन पेजिलो हुने भएको छ । नेपाली कांग्रेसको समेत राम्रो प्रभाव रहेको र पछिल्लो समय माओवादी केन्द्रले समेत आफ्नो संगठनमा यूवा सहित निस्कृय रहेका माओवादीका केही यूवालाई प्रवेश र नेकपा एमालेले समेत संगठन विस्तार सुरू गरेकाले वडा कसले हाक्छ भन्ने चर्चा समेत गाउँमा सुरु भएको छ । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा क्याप्टेन जस बहादुर पुनको चर्चा छ । सदरमुकाम नजिक रहेपनि अन्य गाउँको तुलनामा सडक सहित आधारभुत आवश्यकताबाट उपेक्षित भकिम्लीबासीले सहकार्यबाटै वडा अध्यक्ष चुन्ने चाहना समेत ब्यक्त गरेका छन् ।