जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत प्राथमिक विद्यालयमा विद्यार्थीलाई नगद सहितको सुविधा थप गरिएपछि विद्यार्थी संख्या बढेको छ । नियमति विद्यालय आउने, विद्यालयका गतिविधिमा संलग्न हुने, हाजिर गर्ने लगाएतका शैक्षिक गतिविधिमा सक्रिय बनाउन प्रति विद्यार्थी मासिक २ सय रुपैयाँ गरी बार्षिक २४ सय सहित स्टेशनरी साम्रागी समेत उपलब्ध गराउन थालिएपछि शैक्षिक गुणस्तर बढ्नुका साथै अभिभावकको सक्रियता समेत बढेको विद्यालयका शिक्षक लोकेन्द्र बहादुर खड्काले बताउनुभयो ।

बुधबार विद्यालयमा बार्षिक परिक्षाको नतिजा सार्वजनिक तथा नगद सुविधा हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताले सामुदायिक विद्यालयमा सुविधा थप गरी गुणस्तरीय शिक्षाको वातावरण बनाउन सकिएमा विद्यार्थीको आर्कषण बढ्ने बताइएको थियो । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बम बहादुर पुनले आर्थिक सहित शैक्षिक सहयोगले विद्यार्थीको संख्यासंगै गुणस्तरीय शिक्षामा समेत सहयोग पुगेको बताउनुभएको थियो । त्यस्तै विशिष्ट अतिथि विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले विद्यार्थीको पठनसीपको विकास सहित सम्रग शैक्षिक गुणस्तरमा अभिभावको जिम्मेबारी प्रमुख हुने बताउनुभएको थियो ।

बेलायतको प्रतिष्ठित Sussex house schoolमा कार्यरत रघुगंगा गाउँपालिका अन्र्तरगत साविकको झिँ गाविसका खिम शेरचनले संकलन गरेको २० लाख विद्यालयको मुद्धतीमा राखेपछि विद्यार्थीलाई आर्कषण गर्न सजिलो भएको हो । मोना यूकेका उपाध्यक्ष समेत रहेका शेरचनले सङ्कलन गरेको आर्थिक सहित नियमित शैक्षिक साम्रागी उपलब्ध गराउन थालेपछि विद्यार्थीको शैक्षिक गुणस्तर समेत बढेको विद्यालयका शिक्षकको भनाई छ । कार्यक्रममा सहयोगदाता शेरचनको सहयोग र जिल्लाका विभिन्न विद्यालयमा उहाँको माध्यमबाट उपलब्ध गराइएको आर्थिक र भौतिक सहयोगका बारेमा समेत चर्चा गरिएको थियो ।

गलेश्वर बजारमै अवस्थित भएपनि विद्यालयप्रति समुदायकै बेवास्थाको शिकार भएपछि पुरस्कार, नगद सुविधा र अंग्रेजी माध्यम समेत थप गरेपछि विद्यार्थीको संख्या ४९ पुगेको छ । सदरमुकाम बेनीको निजी विद्यालयमा अध्ययरत विद्यार्थीको समेत रोजाईमा परेको छ । विद्यालयमा सुविधा बढेपछि अन्य विद्यालयमा लगेका बालबालिका समेत फर्कन थालेका छन् । नगद संगै गुणस्तरीय शिक्षामा समेत विषेश ध्यान दिएको विद्यालयले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय मार्फत आधारभुत तहका दलित र छात्रा विद्यार्थीलाई दिने ४ सय रुपैयाँ विद्यालयले सबै विद्यार्थीलाई दिने गरिएको छ । आर्थिकस्तर कमजोर भएकाले बालबालिकालाई मजदुरी, मन्दिर आसपासमा पुजाका साम्रागी वितरणमा लगाउने छोराछोरीलाई अभिभावकले नै विद्यालयमा पठाउन थालेका छन् ।विद्यार्थी खोज्दै घरघरमा जाने शिक्षक अहिले विद्यार्थीले नै विद्यालय खोज्दै आउन थालेपछि उत्साहित भएका छन् । पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नर बहादुर तिलिजा, सञ्चालन शिक्षक लोकेन्द्र बहादुर खड्काले गर्नुभएको थियो।