स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको दुईवटा वडामा नेकपा एमाले म्याग्दीले सर्वसम्मतिमा वडा अध्यक्ष चयन गरेको छ । निर्वाचनको तयारीमा जुटेको वडा कमिटिले बेनपा १ रत्नेचौरमा समाजसेवी टेक बहादुर रावल र बेनपा ५ मा नेकपा एमालेका संस्थापक सदस्य लक्ष्मण बानियाँलाई वडा अध्यक्ष बनाउने निर्णय गरेको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले बताए । ‘उहाँहरुको नाम सर्वसम्मतिमा आएको छ, केही वडाबाट दुईतीनजनाको नाम समेत सिफारिस भएको छ’ सुबेदीले भने ।

उनले जिल्लाका सबै वडा, गाउँपालिका र नगरपालिकामा सर्वसम्मतिमा नेतृत्व चयन हुने बताए । रत्नेचौरका रावल सामाजिक कार्यमा समेत सक्रिय छन् । गाउँको सडक, रामहरी मन्दिर लगाएतका पूर्वाधार विस्तारमा उनको सक्रियताको कारणले पनि निर्वाचनमा उनलाई लोकप्रिय मत प्राप्त हुने स्थानीयको भनाई छ । भारतीय सेनाबाट अवकाश प्राप्त भएपछि माओवादी द्धन्द्धकालमा समेत रावलले गाउँमा पार्टीको संरक्षण सहित पार्टी संकटमा समेत एमालेका लागि जिल्ला देखी केन्द्रसम्म निकै प्रयास गरेका थिए ।

पार्टीका कार्यकर्ता बाहेक अन्य पार्टीमा समेत उनको लोकप्रियता देखिन्छ । त्यस्तै पुलाचौरका लक्षमण बानियाँ एमाले म्याग्दीका पुराना नेता मानिन्छन् । पञ्चयातकालमा संघर्ष र उनको योगदानको अहिलेपनि पार्टीमा चर्चा हुन्छ । दुईजनाको उम्मेदवारीसंगै वडास्तरमा चुनावी चहलपहलले थप तिब्रता पाएको छ । रत्नेचौर र पुलाचौरमा अन्य पार्टीले वडा अध्यक्षको टुंगो लगाएका छैनन् । त्यस्तै भकिम्लीमा एमालेले दिलबहादुर थापालाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको छ । एमालेको कमजोर वडाको रुपमा रहेको भकिम्लीमा स्वतन्त्रबाट यसअगाडी पदम पुनले घोषणा गरिेकका छन् भने नेपाली कांग्रेसबाट समेत क्याप्टेन जस बहादुर पुनको तयारी भइरहेको छ । आगामी बैशाख ३१ गते हुने निर्वाचनका लागि जिल्लामा राजनीतिक दलका नेताहरुले धमाधम उम्मेदवारको टुंगो लगाउन थालेका छन् ।