आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचन नजिकिदै जाँदा जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन लागेको छ । निर्वाचनलाई लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी जुटेको छ ।स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिवारबाट जिल्लामा मोटरसाइकल गस्ती सुरु गरेको हो ।

राजनीतिक दल तथा जनता चुनावको लागि जुटेसँगै सुरक्षालाई मध्यनजर गरी सात वटा मोटरसाइकलमा गस्ती सुरु गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको मोटरसाइकलबाट सडक यातायात पुगेका ग्रामिण क्षेत्रहरुमा तत्काल पुग्न सहयोग पुग्ने उहाँले बताउनुभयो । सुरक्षाका हिसावले संवेदनशिल क्षेत्रहरुमा मोटरसाइकलबाट गस्ती गरिने प्रनाउ खड्काले बताउनुभयो ।निर्वाचनका समयमा हुने अवान्छीत गतिविधिहरुलाई तत्काल नियन्त्रण गर्न सहयोग पुगोस भनेर यसपाली प्रधान कार्यालयले थप ४ वटा मोटरसाइकल उपलब्ध गराएको उहाँले बताउनुभयो ।

निर्वाचनलाई सफल पार्नका लागि सुरक्षा व्यवस्था सुदृढ पार्न कुनै कसर वाँकी नराखिएको प्रनाउ खड्को भनाइ थियो ।मोटरसाइकलका साथै हाल उपलब्ध प्रहरीको गाडीबाट पनि जिल्लाभर गस्ती सुरु गरिएको छ । अप्ठ्यारो भूगोलका कारण उपलब्ध साधनले केही स्थानहरुमा पुग्न संभव नहुने भएकाले थप साधनको माग गरिएको उहाँले बताउनुभयो ।साथै निर्वाचनका समय नेकपा (विप्लव) बाट हुन सक्ने निर्वाचन विरोधी क्रियाकलापका वारेमा पनि प्रहरी सचेत रहेको उहाँको भनाई थियो ।