धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा अवस्थित स्वर्गाश्रममा शुक्रबार रथयात्रा सहित विविध पुजाआजा गरिएको छ । हरेकबर्ष नयाँ बर्षमा हुने आश्रममा पुजाआजा गरिने आश्रममा रहेको मन्दिरमा भकिम्लीका विभिन्न गाउँबाट भक्तजनहरु आएको स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताए ।

पुजाआजाको अवसर विश्वशान्तीको कामना समेत गरिएको थियो । समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमाअवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेपनि स्थानीयले दशककै अगाडीदेखी पुजाआजा सहित विभिन्न कार्यक्रम गर्ने गरेका छन् । झण्डै १ सयवर्ष पुरानो इतिहास बोकेको प्रसिद्ध स्वर्गाश्रम कालीगण्डकी, धौलागिरि, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत विभिन्न सप्तक्रषि डाँडाहरुले घेरिएको छ । स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल आदी रहेका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि ३ कोष टाढा रहेको स्वर्गाश्रममा देशका विभिन्न ठाउँबाट गुरु तथा माताहरु आएर तपस्या गर्ने गर्दछन् ।

आश्रमको नजिकै ऋषि माताहरुले तपस्या गर्ने गरेको ओढारलाई समेत स्थानीयले संरक्षणको प्रयास गरेका छन् । २०४३ देखि ५५ सालसम्म ईन्दिरा माताले तपस्या गरेको गुफा ओढार रहेको भकिम्लीका यूवा प्रकाश केसीले बताए । आश्रममा सन् १९४८ मा छविनन्दप्रसाद गुरुले तपस्या गरेका थिएभने २०१७लमा बागलुङको बिहुँबाट प्रमानन्द गुरु बालतपसी आई तपस्या गरेका थिए । समयसमयमा म्याग्दीसहित पर्वत, बागलुङ र चितवनलगायतका जिल्लाबाट तपसीहरु आएर ध्यान गर्ने गरेका छन् । आश्रममा विभिन्न मुर्तिकला, सप्तऋषि डाँडा रहेको किम्बदन्ती छ । छिमेकी जिल्ला बागलुङको धम्जाबाट समेत पुजाआजा गर्न आउने गरेका छन् ।