स्थानीय तहको निर्वाचनको मिति नजिकदैं जाँदा म्याग्दीमा राजनीतिक दलको तयारी तिब्र गतिमा अगाडी बढेको छ । करिव दुईदशम पछाडी हुन लागेको निर्वाचनमा पार्टी प्रवेशको लहरले समेत ग्रामिण क्षेत्रमा चुनावी अभियान थप पेचिलो बनेको छ । पश्चिम म्याग्दीको निस्कोटमा शनिबार नेपाली कांग्रेसको भेलामा जनमुक्ती पार्टीका केन्द्रिय सदस्य एवम् निस्कोटका अगुवा टंक पुन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मालिका गाउँपालिका–१ मा कार्यकर्ता भेला तथा उम्मेदवारी छनौट कार्यक्रममा जनमुक्ती पार्टीबाट २०६४ साल र २०७० सालको संविधान सभाको निर्वाचनमा प्र्रत्येक्ष तर्फ उम्मेदवारी बनेका पुन र निस्कोट माविका ब्यवस्थापन समितिका अध्यक्ष दिल कुमार पुन लगाएतलाई सांसद रेशम बहादुर बानियाँले पार्टीमा प्रवेश गराएका हुन् । निस्कोट, देविस्थान, ओखरबोट, रुम लगाएतका क्षेत्रमा आफ्नो प्रभाव पारेका टंक पुनले पश्चिम म्याग्दीको विकासका लागि नेपाली कांग्रेसको विकल्प नभएको प्रतिक्रिया दिएका छन् । निस्कोट लगाएतका क्षेत्रमा पुनको सामाजिक कार्य तथा प्रभाव रहेकाले पनि निर्वाचन नजिक उनको प्रवेशलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

कार्यक्रममा मालिका गाउँपालिका प्रमुखका उम्मेदवार श्री प्रसाद रोका मगर, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य अजय मिलन श्रेष्ठ, महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन लगाएतको उपस्थिती रहेको थियो । यसैविच नेपाली कांग्रेसले बेनी नगरपालिका, जिल्लाका अन्य गाउँपालिका र वडास्तरमा समेत कार्यकर्ता भेला सहित चुनावी अभियानलाई तिब्रता दिएको छ । पार्टी प्रवेशमा समेत अन्य राजनीतिक दलबाट आर्कषित भएको पार्टीले जनाएको छ ।