स्थानीय निकायको निर्वाचनको मिति नजिकदै जाँदा म्याग्दीका राजनीतिक दलले चुनावी र आन्तरिक तयारीलाई तिब्रता दिएका छन् । करिव दुईदशक पछाडी हुन लागेको निर्वाचनलाई आफ्नो पक्षमा पार्न राजनीतिक दलले सुरु गरेको चुनावी अभियानले सहर देखी गाउँसम्म रौनकता छाएको छ ।

जिल्लामा क्रियासिल राजनीतिक दलले वडा, गाउँपालिका र नगरपालिकामा आफ्नो विजय सुनिश्चित बनाउन कार्यकर्ता भेला, उम्मेदवार छनौट सहित पार्टी प्रवेशमा प्राथमिकता दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पछिल्ला चु्नावी तयारीमा विगतका निर्वाचनमा कम मत खसेका क्षेत्रहरु प्राथमिकतामा देखिएको छ । कम मत खसेका क्षेत्रमा आफ्नो प्रभाव जमाउन सकेमा त्यसले सम्रग निर्वाचनलाई नै आफ्नो पक्षमा पार्न सकिने रणनितिका साथ चुनावी अभियानमा होमिएका दलको तयारीले ग्रामिण क्षेत्रमा टोलटोल र गाउँमा चुनावी भेटघाटले तिब्रता पाएको छ ।

नेपाली कांग्रेस म्याग्दीले २०७० सालमा सम्पन्न दोस्रो संविधान सभामा सम्मानजक मतले पराजित भएपनि कम मत खसेका क्षेत्रहरुबाट चुनावी अभियानलाई अगाडी बढाएको थियो । छन्त्याल र दलितको बसोबास रहेको मल्कवाङमा एक सार्वजनिक समारोहमा सहभागि भएर फर्कने क्रममा कांग्रेसले त्यहाँ पार्टीको कार्यक्रम गर्नुका साथै चुनावी तयारीका बारेमा कार्यकतालाई जानकारी गराएको थियो ।

कांग्रेसले जिल्लाभर उम्मेदवारको प्रथम सुची बनाउने अभियान अन्र्तरगत वडास्तरमै पुगेर चुनावी अभियानलाई केन्द्रित गरेको जनाएको छ ।त्यस्तै नेकपा एमालेले गाउँपालिकाको वडास्तरमा पुग्ने संयन्त्रलाई परिचालन गरेको छ । बेनी नगरपालिका भित्र अन्य वडाको तुलनमा कमजोर मानिएको भकिम्लीमा पार्टीका जिल्लास्तरका नेता सहित सांसद समेत पटकपटक विभिन्न गाउँमै पुगेर गाउँलेलाई आर्कषित गरिरहेका छन्।नेकपा एमालेले जिल्लास्तरको टोली सहित गाउँपालिकामा उम्मेदवार छनौटमा जुटेका गाउँकमिटलाई समेत परिचालन गरेको छ ।

विगतमा निर्वाचनमा पार्टीलाई कम मत खसेको साविकका गाविसमा एमालेको चलपहलले समेत त्यसलाई पुष्टी गरेको छ । नेकपा एमालेले विप्लव नेतृत्वको नेकपामा सक्रिय रहेका बेनी नगरपालिका सिंंगाका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएर बेनपा–४ सिंगामा कमजोर रहेको पार्टीलाई बलियो बनाउन आवश्यक मानिएका स्थानीयस्तरमा प्रभाव पार्नेलाई पार्टीमा प्रवेश गराएर चुनावी चहलपहललाई तिब्रता दिएको छ । जिल्लाभर एमालेको पहिलो रोजाईमा कमजोर मानिएका क्षेत्रहरु परेका छन् ।

त्यस्तै पहिलो संविधान सभाका शक्तिशाली मानिएको माओवादी विभाजित भएर दोस्रो संविधान सभामा कमजोर मत प्राप्त गरेपनि हाल सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले समेत आफ्नो योजनालाई प्रभावकारी बनाएर चुनावी मैदानमा होमिएको छ ।माओवादीबाट विभाजित भएकाहरु समेत धमाधम पार्टीमा फर्कन थालेका छन् भने कमजोर मानिएका साविकका गाविसमा बजेट सहितका प्राथमिक योजनामा ध्यान केन्द्रित गरेको छ । माओवादी सरकारमा म्याग्दीकै मिन बहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा पुगेपछि भित्रिएको कराडौंको बजेट माओवादीको चुनावी कोशेली बनेको छ ।

माओवादीले कमजोर स्थानका साथै अन्य दलभन्दा शक्तीशालि ओखरबोटमा दिलिप शेरचन लगाएतलाई प्रवेश गराएर थप शक्ती प्रर्दशन गरेको छ । त्यसैगरी ताकम, लुलाङ, गुर्जामा पुरानो प्रभाव जमाउने प्रयास गरेको छ भने जिल्लाका अन्य क्षेत्रमा समेत माओवादीको चुनावी योजना सहित सरकारको नेतृत्वमा पुगेपछि जिल्लामा गरेका कामबाट जनतालाई आर्कषित गरेको छ । चुनावी अभियानमा तीनदलको तुलनमा राप्रप कमजोर देखिएको छ ।

राप्रपाका दुई केन्द्रिय सदस्य तथा हाल सरकारमा रहेको पार्टी भएपनि राप्रपाबाटै अहिले पनि अन्य राजनीतिक दलमा प्रवेश गर्ने क्रम रोकिएको छ । तीनबर्षको अन्र्तरालमा करिव १४ हजार मतदाता थपिएपछि राजनीतिक दलले नयाँ मतदातालाई आर्कषित गर्ने प्रयास गरेका छन् । वडास्तरमै बलियो भए गाउँपालिका र नगरपालिका जित्न सकिन्छ भन्ने योजना सहित दल गाउँ पसेपछि चुनावी चटारोले छोएको छ ।