४१ हजार विदेशी पर्यटकले म्याग्दी घुमे

0

पर्यटकीय जिल्ला म्याग्दीमा एकबर्षको अन्तरालमा करिव ४१ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । विश्व प्रसिद्ध अन्नपुर्ण चक्रीय पदमार्ग, राउण्ड धौलागिरि सहित जिल्लाका पर्यटकीय क्षेत्रमा ०७२ बैशाख देखी ०७३ चैत्रसम्म ४१ हजार ५८३ विदेशी पर्यटकले विभिन्न पर्यटकीय रूटबाट जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयका कार्यशाखाका प्रहरी नायव निरिक्षक हिरा कुमार थापाले बेनीअनलाइनलाई बताए ।

‘धेरै पर्यटकको रोजाईमा घोरेपानी परेको छ । पर्यटक प्रहरीको समेत उपस्थिती भएकाले सहज भएको छ’ उनले भने । जिल्लाको घोरेपानी, भुरुङ–तातोपानी, दरवाङमा रहेको पर्यटकको सुचना केन्द्रबाट सङ्कन गरिएको विवरण अनुसार गतबर्षको बैशाखमा ३८ सय ९८,जेठमा १५ सय ८०, असार ९ सय ३३ , साउनमा १७ सय ७०, भदौ १९ सय ३३, असोजमा ४४ सय ८३ जना पर्यटकले भ्रमण गरेका छन् ।

त्यसैगरी कार्तिकमा ५४ सय ८८, मंसिर ३४ सय ८५, पुस २८ सय ५८ जना, माघमा २५ सय ७०, फागुन ४ हजार ८४ र चैतमा ८ हजार ५०१ जना पर्यटक भित्रिएका छन् । जिल्लामा भित्रिने भन्दा बाहिरिने पर्यटकको संख्या धेरै रहेको छ । कास्कीको पोखराबाट हवाईमार्ग र मनाङबाट पैदलयात्रा हुदै मुस्ताङ प्रवेश गर्ने पर्यटकहरू ५ देखी २ सातासम्म मुस्ताङका विभिन्न ठाउँको भ्रमण गरी सडक मार्ग हुदै जिल्ला बाहिर जाने गरेको प्रहरी पर्यटक कार्यालय घोरेपानीले जनाएको छ ।

मुस्ताङ र कास्कीबाट आएका पर्यटक दुईरातसम्म जिल्लाकै प्रमुख पर्यटकीयस्थल समेत मानिएको घोरेपानीमा विताउने गरेको घोरेपानीका प्रमुख प्रहरी सहायक निरिक्षक बीरेन्द्र महतले बताए । ‘विदेशीको मात्रै विवरण राख्ने गरिएको छ,आन्तरिक पर्यटकको उपस्थिती समेत उत्साहजनक देखिन्छ’ महतले भने। उनका अनुसार पर्यटकको सुरक्षाका लागि भित्रिने नाकामा नियमित गस्तीले समेत आवतजावतमा सहज भएको बताए । उनका अनुसार कास्की र मुस्ताङबाट बाहिरिने पर्यटकहरू समेत घोरेपानीमा पुग्ने गरेका छन् । जसका कारण घोरेपानीमा अघिल्लो बर्षको तुलनामा दोब्वर पर्यटक भित्रिएका छन् ।

जिल्लामा भित्रिने पर्यटकको कुल संख्या मध्ये घोरेपानीमा ६० देखी ७५ प्रतिशत पर्यटक अन्नपुर्ण पदमार्ग अन्र्तरगत घोरपानी, पुनहिलमा पुग्ने गरेका छन् । कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक, म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै र नागी–महरेडाँडा, पोखरेबगर–पाँउद्धार शिख लगाएत नयाँ पदमार्गबाट समेत घोरेपानीमा पुग्छन् । ‘धेरैजसो पर्यटक प्रहरी चौकीमा समेत पुग्दैनन् ।

जिल्लामा भित्रिने पर्यटकको संख्या ६० हजारभन्दा बढी हुनुपर्छ’ धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भने । उनले पुराना पदप्रदर्शकले पर्यटकको इच्छा अनुसार नै नयाँ र जोखिमपुर्ण मार्गको प्रयोग गर्न चाहने र प्रहरीको पहुँचमा पुग्न समय लाग्ने अवस्थामा वेवास्ता गर्ने गरेको बताए । एकबर्षमा करोडौंको कारोबार भएपनि पर्यटकलाई आवश्यक पूर्वाधार विस्तारमा राज्यका निकायबाट ध्यान पुग्न नसकेको ब्यवसायीको गुनासो छ ।

‘फरक रुटमा घुम्न जाने पर्यटकलाई पूर्वाधारले रोकेको छ, जिल्लामा १ लाखभन्दा धेरै पर्यटक ल्याउने प्रसस्तै सम्भावना भएका ठाउँ छन्’ उनले भने । जिल्लामा भ्रमण गर्ने साकराष्ट्र बाहेक चिनियाँ, वेल्जियम, इटली, जर्मन, ईजरायल, कोरिया, फान्स, अमेरिका, बेलायत लगाएत यूरोपका अन्य देशहरुबाट भ्रमणमा आउने गरेका छन् । मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य पर्यटकका प्रमुख आर्कषण मानिन्छन् ।