मेयरमा कांग्रेसबाट तीनजना सिफारिस

0
145

बेनी नगरपालिकाको मेयरमा बेनी नगर कार्यसमितिको बैठकले तीनजनाको नाम सिफारिस गरेको छ । मंगलबार सदरमुकाम बेनीस्थित पार्टी कार्यालयमा भएको बैठकले पार्टी सचिव द्धय हरिकुमार श्रेष्ठ, क्याप्टेन मिनबहादुर कार्की र नेत्र बहादुर महतलाई बेनी नगरपालिकाको मेयरका लागि जिल्ला कार्यसमितिमा सिफारिस गरिएको जिल्ला कार्यसमिति सदस्य अजय मिलन श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

‘तीनजनाको नाम प्रस्ताव गरिएको छ,तीनजनै सक्षम उम्मेदवार हुनुहुन्छ’ उनले भने । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले नगर क्षेत्रमा चुनावी अभियान,बैठक,भेलालाई तिब्रता दिएको अवस्थामा तीनजनालाई नगर समितिले सर्वसम्मतिले प्रस्ताव गरेको हो । नगर समितिका संयोजक अनोद श्रेष्ठको अध्यक्षतामा भएको बैठकले नगरपालिका भित्रका सबै वडा, गाउँटोलमा चुनावी अभियानलाई केन्द्रित गर्ने निर्णय समेत गरेको छ ।

कांग्रेसले पहुँच भन्दा लोकप्रियता, पार्टीप्रतिको योगदान लगाएतलाई आधार बनाएर प्रारम्भीक उम्मेदवार छनौटका लागि वडास्तरमा समेत बैठक र भेला सम्पन्न गरेको छ । मेयर पदका लागि सिफारिस गरिएका श्रेष्ठ म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष समेत हुन। त्यस्तै कार्की क्षेत्री समाज, गोर्खा भूपु सैनिक,सहित विभिन्न संघसंस्थामा आवद्ध रहेका छन भने र महत गत बर्ष सम्पन्न नेपाली कांग्रेसको अधिवेशनमा सभापतिका उम्मेदवार समेत हु्न । जिल्ला बालकल्याण समितिका सभापति समेत हुन् । तीनजनालाई सिफारिस संगै चुनावी अभियानलाई थप तिब्रता दिने नगर समितिले जनाएको छ ।