बेनीबजारमा तीब्र गतिमा गुडिरहेका दुईवटा ट्याक्टर प्रहरीले मंगलबार नियन्त्रणमा लियो । लाइसेन्स, नम्बर प्लेट, बत्ती समेत नभएको ट्याक्टरका दुइजना १५ बर्षका चालक समेत प्रहरी फन्दामा परे । चालक, ढुवानीमा काम गर्ने दुई गरी चारजनालाई प्रहरीले ट्याक्टर मालिकको विवरण लिदैं सचेत बनाएर छोड्यो ।जिल्लामा रहेका ट्याक्टरमा लाईसेन्स नभएका र १७ बर्ष मुनीका बालक समेत चालक बनेपछि प्रहरीले निगरानी सुरु गरेको छ।

प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले कलिला बालक समेत ट्याक्टरमा सामान ढुवानीमा सक्रिय भएको देखेपछि ट्राफिक प्रहरी र इलाका र प्रहरी चौकीमार्फत जिल्लाभरका ट्याक्टर सहित सवारीसाधनलाई चेकजाँच सहित कडाई गर्न निर्देशन दिएको पहिलो दिनमै धमाधम ट्याक्टर कारवाहीमा पर्न थालेका छन् ।

‘धेरै ठाउँमा स्कुले बालक समेत चालकको रुपमा काम गरेको देखे ।यसले दुर्घटनाको जोखिम बढाएको छ’ खड्काले बेनीअनलाइनलाई भनिन् । उनले ट्याक्टर सहित अन्य सवारीसाधनमा कलिला बालकलाई प्रयोग गरेर कम प्रारिश्रमिकमा मालिकले फाईदा लिने गरेकाले निगरानी सहित कारवाहीको प्रक्रिया सुरु गरेको बताईन् । विद्यालय छोडेर सहचालक हुदै चालक बनेकाको लाइसेन्स लिने उमेर समेत नभएकाले विना लाइन्सेन्स तिब्रगतिमा चलाउँदा दुर्घटना समेत बढेको छ ।

मंगलबार समेत बेनी–दरवाङ सडकमा एउटा सवारीसाधन दुर्घटना भएको छ ।प्रहरीले नियन्त्रणमा लिएर ट्राफिक नियमका बारेमा जानकारी गराएर छोडेको छ ।सवारीसाधनका मालिकलाई समेत कडा कारवाहीको चेतावनी समेत प्रहरीले दिएको छ। बाल चालक रहेका ट्याक्टरमा १४ देखी १८ बर्षसम्मका ढुवानीमा सहयोग गर्ने गरी सहचालक समेत भेटिएका छन् ।

ट्याक्टरले बजारबाट ग्रामिण क्षेत्रमा समान ढुवानी, खोलानदीबाट बालुवा, ढुंगा ढुवानी सहित क्षमता भन्दा धेरै लोड ओसारपोसार गर्ने गरेको प्रहरीको भनाई छ । जिल्लामा दैनिकजसो ट्याक्टरको संख्या बढेपनि नियमन गर्ने समिति समेत नभएकाले समस्या भइरहेको छ । प्रहरीले जिल्लाभर रहेका सवारीसाधनमा कडाईका साथै विवरण समेत संकलन गरिरहेको छ । अन्य सवारीसाधनको तुलनामा ट्याक्टरमा बाल उमेर सम्ुहको प्रयोग भइरहेको छ । जिल्लाका ग्रामिण सडकमा ट्याक्टरको दु्र्घटना बढिरहेको भन्दै सरोकारावाल निकायले समेत नियमनमा चासो देखाएका छन् ।