निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ७१ हजार ४६३ मतदाता कायम गरेको छ । जिल्ला निर्वाचन कार्यालयले बेनी नगरपालिका र पाँच गाउँपालिकाको कुल मतदाता ७१ हजार ९१२ आयोगमा स्वीकृतका लागि पठाएकोमा दोहोरिएको र त्रुटी सच्चाएर अन्तिम मतदाता नामावली सार्वजनिक भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले बताए । ‘अन्तिम मतदाताको विवरण प्राप्त भएको छ । मतदाताको विवरण वेवसाईटमा समेत राखिएको छ‘ पौडेलले बेनीअनलाइनलाई भने । अन्तिम मतदाता सुचीमा ४ सय ४९ मतदाता घटेका छन् ।

कुल मतदाता मध्ये बेनी नगरपालिकामा १८ हजार ३४५, मंगला गाउँपालिकामा ११ हजार ५८, मालिका गाउँपालिका १० हजार ६४४, धौलागिरि गाउँपालिका ९ हजार ३३४, रघुगंगा गाउँपालिका ११ हजार ५६३ र अन्नपुर्ण गाउँपालिकामा १ जना तेस्रो लिङ्ग सहित १० हजार ५१९ मतदाता रहेका छन् । निर्वाचनको मिति नजिकदैं जाँदा निर्वाचनको तयारी समेत तिब्र गतिमा अगाडी बढेको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ७२ मतदानस्थल र १०२ केन्द्र कायम गरिएको छ । वडास्तरमा रहेको जनसंख्याको आधारमा केन्द्र तोकिएको कार्यालयले जनाएको छ । ०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा जिल्लामा कुल मतदाता ५६ हजार ५५३ रहेको थियो ।