घतानमा सञ्चालित दुई व्यवसायको अनुगमन

0

म्याग्दीको बेनी नगरपालिका–९ घतानको नेप्टेचौर र काउलेगौंडामा सञ्चालित दुईवटा व्यवसायको बुधबार अनुगमन भएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोग र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी)को प्राविधिक सहयोगमा सञ्चालित व्यवसायको स्थलगत अनुगमन गरिएको हो।

परम्परागत सिप तथा व्यवसायिकता विकास कार्यक्रमअन्तर्गत सिस्नो पाउडर तथा आरन व्यवसायको अनुगमन एवं निरीक्षण गरिएको डिसीआरडिसीले जनाएको छ । नेप्टेचौरमा १६ जना महिलाहरुलाई गलेश्वर सिस्नो पाउडर उत्पादन समूहमाआबद्ध गराई विभिन्न समयमा तालिम दिनुका साथै आवश्यक बजेट सहयोग र व्यवस्थापन गरिएको छ ।

यसैगरी काउलेगौंडामा आदर्श कृषि औजार उत्पादन समूहमार्फत परम्परागत आरन व्यवसाय गर्दै आएका १७ जनालाई सहभागी गराई तालिम तथा आवश्यक अनुदान सहयोग गरिएको बताइएको छ । परम्परागत आरन व्यवसायलाई आधुनिकीकरण, व्यवसायिकरण र व्यवस्थित बनाउन थप औजार तथा बजेटको आवश्यकता रहेको समूहका अध्यक्ष विदुर विश्वकर्माले बताएका थिए ।

कार्यक्रममा बोल्दै गरिबी निवारण कोष म्याग्दीका कार्य प्रवन्धक ईश्वरा आचार्यले दुवै व्यवसायमा आबद्ध उद्यमीहरुलाई व्यवसायको दिगो विकास, प्रवद्र्धनसहित आयआर्जन गरी आत्मनिर्भर बन्न सुझाव दिएकी छिन् । सोही कार्यक्रममा डिसीआरडिसीका अध्यक्ष ईश्वरलाल राजभण्डारीले तालिमलाई मार्गदर्शनका रुपमा लिएर आफ्नो पेशा व्यवसायलाई अगाडि बढाउनुपर्ने बताउँदै सिस्नो पाउडर र आरन व्यवसायको राम्रो सम्भावना रहेकोमा जोड दिए ।

यसैबीच आदर्श कृषि औजार उत्पादन समूहको आयोजना, डिसीआरडिसीको प्राविधिक सहयोग र गरिबी निवारण कोषको आर्थिक सहयोगमा कृषि औजार उत्पादन समूहका लागि सञ्चालित ५ दिने वल्डिङ र आरनसम्बन्धी तालिमको समेत समापन गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य प्रताप बानियाँ र डिसीआरडिसीका कार्यक्रम संयोजक रमेश पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रम गलेश्वर सिस्नो पाउडर उत्पादन समूहका अध्यक्ष गंगा खत्रीको अध्यक्षता, सचिव अमिता खत्रीको सञ्चालन र सदस्य सरस्वती सुवेदीको स्वागतमा सम्पन्न भएको थियो । प्रताप बानियाँ