आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेले तीनजनाको नाम सिफारिस गरेको छ । बुधबार साँझ प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम प्रदेशमा सिफारिस गरिएको हो । मेयरमा १० जनाको आकांक्षी देखिएपछि मंगलबार र बुधबार पार्टी कार्यालयमा भएको आन्तरिक छलफल सहित उम्मेदवार छनोटका विभिन्न प्रक्रियामा समेत सहमति जुट्न नसकेपछि अन्तिम ६ जनाको नाम जिल्ला कमिटीमा प्रस्ताव गरिएको थियो ।

मंगलबार सहमति हुन नसकेपछि बुधबार भएको छलफलबाट प्रमोद श्रेष्ठ, राजकुमार थापा, सन्तोष रावल, सुरत केसी, कृष्णकुमार विश्वकर्मा र नारायण जिसीबाट अन्तिम तीनजनाको नाम टुंगो लगाइएको नेकपा एमालेका यूवा नेता एवम् यूवा संघको विदेश विभाग प्रमुख सन्तोष रावलले बेनीअनलाइनलाई बताए । बुधबार दिउँसो सहमतिका लागि पार्टीका उपसचिव देव बहादुर घले, किरण सापकोटा, जिवन विश्वकर्मा र गोविन्द बानियाँले आफ्नो नाम फिर्ता लिएका थिए ।

मेयरका आकांक्षीलाई ब्यवस्थापन गर्न एमालेका दुई सांसदद्धय नवराज शर्मा र नरदेवी पुन, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगाएतले निरन्तर प्रयास गरेका थिए । उम्मेदवारले आफ्नो एजेण्डा प्रस्तुती समेत गरेका थिए । प्रस्ताव गरिएका तीनजनाको नाम प्रदेश नम्बर ४ को कमिटीले एकजना लाई मेयर पदका लागी छनौट गर्ने छ । तीनजनाको नाम सिफारिस संगै आफ्ना पक्षमा पार्न तीनजनाले आफ्नो पक्षबाट लविङ्ग गर्ने निश्चित छ ।