निजी स्वास्थ्य सेवामा असुरक्षित गर्भपतन गर्नेमा अविवाहित धेरै

0
280

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार सुरक्षित गर्भपतन सेवा सम्बन्धमा औषधी व्यवसायी, निजी अस्पताल क्लिनीक सञ्चालकहरुसँग अन्तत्र्रिmया सम्पन्न भएको छ । आईपास नेपालको सहयोग र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा गर्भपतन सेवाको विषयमा अन्तत्र्रिmया र छलफल गरिएको हो ।

कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले म्याग्दी जिल्ला अस्पतालसहित जिल्लाको विभिन्न १४ ठाउँमा निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको जानकारी दिए । उनले दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतनको सेवा दिइरहेको बताउँदै सुचीकृत स्वास्थ्य संस्था र सरकारी स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराउने वातावरण बनाउन मेडिकल सञ्चालकसमक्ष आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अम्बालिका शाक्य र क्लिनीकल कोअर्डिनेटर डा. धिरेन्द्रकुमार मल्लले गर्भपतनसम्बन्धी सेवासुविधा, कानुनी विषय र जिल्ला अस्पतालको अवस्थाबारे सहजीकरण गरेका थिए ।

जिल्ला अस्पताल बेनीको सुरक्षित गर्भपतन सेवाको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म सबैभन्दा धेरै गत चैत महिनामा मात्रै ६९ प्रतिशत गर्भपतन गराएको पाइएको छ ।कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले ऐननियमको दायराभित्र रहेर आफ्ना क्रियाकलापहरु सञ्चालन गर्न मेडिकल सञ्चालकलाई सुझाव दिएका छन् । उनले समयसमयमा स्वास्थ्य संस्थाहरुको अनुगमन, औषधी आपूर्तिको अवस्था, म्याद गुज्रिएका औषधीहरु तुरुन्तै नष्ट गर्न तथा गर्न लगाउन जिल्ला स्वास्थ्य कार्यालयलाई समेत आग्रह गरे ।

कार्यक्रममा निजी मेडिकल सञ्चालकहरुले आफूहरुकोमा सेवा लिन आउनेहरुलाई जिल्ला अस्पताल र सम्बन्धित स्वास्थ्य संस्थामा जान अनुरोध गरेको बताउँदै कतिपय भने हिच्किचाउने गरेको बताएका थिए । म्याग्दीको जिल्ला अस्पताल बेनी, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र, लुलाङ, ताकम, रुम, अर्मन, सिङ्गा, भकिम्ली, ज्यामरुककोट, राखुपिप्ले, भगवती, शिख, भूरुङ–तातोपानी र पाखापानी स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।

निःशुल्क सुरक्षित गर्भपतन सेवाको बारेमा जानकारी गराउन तथा औषधी व्यवसायीहरुसँग अर्धवार्षिक रुपमा सुरक्षित गर्भपतन सेवासम्बन्धी छलफल गरी असुरक्षित गर्भपतनलाई न्युनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षता र अस्पतालका पब्लिक हेल्थ नर्स लिला गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा मेडिकल सञ्चालक भूपति गुरुङले मन्तव्य राखेका थिए ।