नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीले बिहीबार आफ्नो स्थापना दिवस मनाएको छ । सङ्गठनले २८औं स्थापना दिवसको अवसर पारी जिल्ला अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरेर दिवस मनाएको हो ।

अस्पतालको ईन्डोर र ईमरजेन्सी कक्षमा उपचाररत २० जना बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मौसम अनुकुल हुनेगरी विभिन्न प्रकारका फलफुलहरु वितरण गरिएको निजामति कर्मचारी सङ्गठन म्याग्दीले जनाएको छ । बिरामीलाई सङ्गठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रोशन न्यौपाने र सङ्गठनका केन्द्रीय सदस्य सगुन कसजुलगायतले फलफुल वितरण गरेका थिए ।

फलफुल वितरणपछिको कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष सापकोटाले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गराउनु कर्मचारीको दायित्व भएको बताएका छन् । उनले २० वर्षको अन्तरालमा हुँदै गरेको स्थानीय निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न चुनावकेन्द्रीत भएर लाग्नुपर्नेमा जोड दिए । प्रजिअ पौडेलले देशैभर स्थानीय तहको चुनाबको वातावरण बन्दै गएकाले सबै मिलेर चुनाव सम्पन्न गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र आधिकारिक ट्रेड युनियन (सिबिए)का जिल्ला अध्यक्ष चन्द्रमणि सापकोटाले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा म्याग्दी जिल्लामा नवआगन्तुक कर्मचारीहरुलाई स्वागत गरिएको सङ्गठनले जानकारी दिएको छ । कार्यक्रम सङ्गठनका जिल्ला अध्यक्ष भोजबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चित्रनाथ शर्माको स्वागत र सचिव बिक्रम रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

विज्ञापन