म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५१औं अधिवेशनबाट एशोसियटतर्फ उपाध्यक्ष पदमा निर्वाचित चन्द्रप्रसाद ढकाललाई स्वागत गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा संघका पदाधिकारी, महिला उद्यमी, उद्योगी, व्यापारीले उपाध्यक्ष ढकाललाई माला तथा खादा लगाएर स्वागत र सम्मान गरेका थिए । सम्मान ग्रहणपछि बोल्दै उपाध्यक्ष ढकालले जिल्लामा सम्भावित स्रोतसाधनको परिचालन गरी संयुक्त लगानीमा अगाडि बढाउने बताए ।

उनले महासंघको सचिवालय व्यवस्थापनसहित जिल्लाका विभिन्न समस्या समाधान महासंघ केन्द्रीत हुने बताएका छन् । उनले ग्लोवल आईएमई बैंक मार्फत जिल्लाका दुर्गम क्षेत्रमा सेवा विस्तारमा प्रतिबद्धत रहेको बताउँदै म्याग्दीमा जलविद्युतका लगानीको सम्भावना समेत खोजिएको बताए । उनले बिहिबार नै उत्तरी म्याग्दीको नारच्याङ रहेको ४२ मेगावाटको मिस्त्रीखोलाको अवलोकन सहित जिल्लामा जलविद्युतमा लगानीको सम्भावनाका बारेमा समेत छलफल गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले निजी क्षेत्रको छाता सङ्गठन उद्योग वाणिज्य महासंघमार्फत उद्योगी व्यापारीका समस्या समाधानका लागि आवश्यक पहल गरिने बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा र निवर्तमान अध्यक्ष कुविरकुमार श्रेष्ठले उद्योगी व्यापारीहरुको समस्या समाधान गर्नतर्फ उपाध्यक्षद्वयको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमको अवसरमा सहभागी उद्योगी व्यापारीले आ–आफ्नो समस्या र गुनासाहरु समेत राखेका थिए । कार्यक्रम संघका अध्यक्ष विश्वकर्माको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यको समापन र सचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मिरिस्तीखोला जलविद्युत आयोजनाका प्रवन्ध निर्देशक सुवर्ण धिताल, सञ्चालक, पत्रकारलगायतको सहभागीता रहेको थियो ।