जिल्लामा सञ्चालित निजी स्वास्थ्य संस्थाले नेपाल सरकारबाट सूचिकृत प्रमाणपत्र नलिई गैरकानुनी रुपमा गर्भपतन गर्ने गरेको चिकित्सकले गुनासो गरेका छन् । सदरमुकाम बेनी र ग्रामिण क्षेत्रमा सञ्चालित औषधी पसल, फार्मेसीले औषधीको प्रयोग गरी जथाभावी गर्भपतन सेवा उपलब्ध गराउँदा अविवाहित र विवाहित महिलाको ज्यान जोखिममा पर्ने गरेको गर्भपतनको क्षेत्रमा सक्रिय रहेका संघसंस्थामा उल्लेख गरिएको छ ।

सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी र सूचिकृत स्वास्थ्य संस्थामा उपलब्ध भएका सेवाका बारेमा जिल्लामा रहेका औषधी पसल,क्लिनिक, फार्मेसीका सञ्चालक र स्वास्थ्यकर्मीलाई लक्षित गरी आइपास नेपाल र जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय गर्भपतन सेवा लिने महिलाले आफ्नो परिचय सार्वजनिक हुने डरले निजी स्वास्थ्य संस्था र औषधी पसलबाट औषधी लिएर सेवन गर्ने तथा गर्भपतन सेवा लिने क्रममा सिकिस्त भएपछि अन्तिमम अस्पतालमा पुग्ने गरेको बेनी अस्पतालका प्रमुख डा.रोशन न्यौपानेले बताए ।‘असुरक्षित गर्भपतनले ज्यानै जोखिममा परेका धेरै विरामी भेटिए । उचित परामर्श नलिई औषधीको प्रयोग समेत गरेको भेटियो’ उनले भने ।

ग्रामिण क्षेत्रका महिलाले औषधी पसलबाट औषधी लिएर सेवन गर्ने, सूचिकृत चिकित्सकको अनुमति विना औषधी विक्री गर्ने, गर्भ अवधिलाई वेवास्ता गरेर औषधीको प्रयोग गर्ने, कानुनी प्रक्रियाका बारेमा अनविज्ञता,सरकारी स्वास्थ्य चौकीमा निशुल्क रहेको सेवालाई समेत चर्को शुल्क लिने गरिएको गुनासो समेत रहेको डा.न्यौपानेको भनाई छ । सूचिकृत स्वास्थ्य संस्था बाहेक अवैध रुपमा गर्भपतन सेवाले विकृति बढाउनुका साथै आधिकारिक तथ्याङ्क ब्यवस्थापनमा समेत समस्या भएकाले निजी स्वास्थ्य संस्था र क्लिनिकले सूचिकृत संस्थामा रिफर गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

उपकरण र मेडिकल इन्डक्सनको प्रयोग गरी गर्भपतन गराउनुपर्ने १२ वटा सो भन्दा माथिका गर्भवतीलाई समेत औषधीको प्रयोग गरी गर्भपतन गराउने प्रयास असफल भएपछि सिकिस्त अवस्थामा अस्पतालमा पुगेपछि अप्रेसन गरी विरामीको ज्यान जोगाउन सफल भएको चिकित्सक धिरेन मल्लले बताए । ‘महिलाको योनीभित्रै कण्डम समेत भेटियो, धेरैपटक निजी औषधी पसलबाट सेवा लिएपनि निको नभएपछि अन्तिम समयमा अस्पतालमा पुगेकी उनको मुस्किलले ज्यान जोगाउन सफल भयौं’ डा.मल्लले भने । निजी सेवा प्रदायक संस्थाबाट गर्भपतन गराउनेको संख्या डरलाग्दो र अनुमान गरेभन्दा धेरै रहेको चिकित्सकको दावी छ ।

सूचिकृत सेवा प्रदायक बाहेक अवैध रुपमा गर्भपतन गर्नेको संख्या धेरै रहेपनि आधिकारिक तथ्याङ्कको अभाव रहेको गर्भपतनको क्षेत्रमा काम गर्ने आइपास नेपालले जनाएको छ ।बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा आधुनिक सुविधाको प्रयोग गरी गर्भपतन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यता निजी स्वास्थ्य संस्थाका सञ्चालक र औषधी पसलले गर्भपतन सेवा लिन आउनेको संख्या धेरै रहेको स्वीकार गरे । ’सेवा निशुल्क भन्ने जानकारी थिएन् । सूचिकृत संस्थामै पठाउँछौ’ निलगिरी औषधी पसलका भूपति गुरुङले भने । उनले अविवाहित यू्वतीहरू परिचय सार्वजनिक हुने त्रासमा आउने गरेपनि आफुँले भविस्यमा देखिने समस्यामा बारेमा जानकारी गराएपछि अस्पतालमा पठाउने गरेको बताए । गर्भपतन सम्बन्धि कानुनी ब्यवस्थाका बारेमा समेत निजी सेवा प्रदायक संस्थाले चासो नदेखाउने, सेवाग्राहीको अनुरोध अनुसारका औषधी विक्री गर्ने समस्यालाई अगामी दिनमा समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

जिल्लामा मात्रृमृत्युमा असुरक्षित गर्भपतन समेत रहेकाले जिल्लाभर रहेका सूचिकृत संस्थाबाट सेवाग्राहीले नाम दर्ता नगरी सिधा सेवाप्रदायकबाट सेवा लिने, आर्थिक अभावका कारण सेवा लिनबाट बन्चित, महिलाले छनोट गरेको उपयुक्त विधिको प्रयोग, सुरक्षित गर्भपतन पछि सन्तुलित परार्मश उपलब्ध, गर्भपतन गरेका महिलालाई दुखाई कम गर्ने लगाएत करिव दुईदर्जन सुविधाका बारेमा सेवाग्राहीले जानकारी दिने गरिएको छ । ०७२÷७३ मा १२ सय ८१ जनाले गर्भपतन र १३ सय ९१ जनाले सुरक्षित प्रसुती सेवाबाट बच्चा जन्माएका तथ्याङ्क छ । चाुल आर्थिक बर्षमा सुविधा र प्रचारप्रसारका कारण समेत गर्भपतन गर्नेको संख्या बढ्ने सेवाप्रदायक संस्थाले जनाएको छ ।

विज्ञापन