शान्ति कोषको पहलमा पवित्रा बचाउ अभियान सञ्चालन

0

म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल संस्था ओमकुमारी शान्ति कोषको पहलमा पवित्रा बचाउ अभियान सञ्चालन भएको छ । बेनी नगरपालिका–४ तातोपानीकी पवित्रा खत्रीको उपचारका लागि शान्ति कोषका आजीवन सदस्य नन्दु पाईजाको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यसहित शनिबारदेखि अभियान शुरु गरिएको हो ।

विगत २ वर्षदेखि फोक्सो र मुटुको समस्याबाट ग्रसित भई हाल काठमाडौंको ब्लु क्रस अस्पतालमा उपचाररत पवित्राको उपचारमा आर्थिक अभाव भएपछि जीवनरक्षाका लागि अभियान चलाइएको शान्ति कोषले जनाएको छ । हालसम्म उनको उपचारमा परिवार र आफन्तले १ लाख ७९ हजार रुपैयाँ खर्च गरिसकेका छन् । शरिर तथा हातखुट्टा फुल्लिने र सुन्निने भएपछि उनलाई पोखराको फेवा सिटीमा उपचार गर्न लगेपनि रोग निको नभएपछि काठमाडौं लगिएको पवित्राकी बहिनी पार्वती खत्रीले बताइन् ।

४० वर्षीया पवित्राका श्रीमान् १० वर्ष पहिले नै बितेका थिएभने १ छोरा र १ छोरी रहेको उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या हुँदा सहयोगको याचना गरेको पारिवारीक स्रोतले बताएको छ । जिल्लामा विभिन्न रोगबाट ग्रसित भई उपचारमा आर्थिक अभाव झेल्दै आएका बिरामीको उपचारमा आर्थिक संयोजन गर्दै आएको शान्ति कोषले पवित्राको उपचारका लागि पनि स्वदेश तथा विदेशमा सहयोग गरिदिन आह्वान गरेको छ ।

प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डकी कर्मचारी समेत रहेकी खत्रीको उपचारमा तातोपानीका कुमार केसी, घम्मरबहादुर बानियाँ र तारा कार्कीको पहलमा एकलाख २१ हजार दुईसय ८० रुपैयाँ सङ्कलन गरिएको छ । यसैबीच अभियानको पहिलो दिन ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, वर्तमान अध्यक्ष राजेश शाक्य, एनआरएन कोरियाका निवर्तमान अध्यक्ष विनोद कुँवर, कार्यवाहक अध्यक्ष आमेनारायण जुग्जालीलगायतले ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेका छन् । आजै मात्र तातोपानी र बेनीको गरी कुल १ लाख ६१ हजार २ सय ८० रुपैयाँ सङ्कलन भएको शान्ति कोषका सचिव लोकेश पुनमगरले बताए ।

सोही कार्यक्रमको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको ५१औं साधारणसभाबाट जिल्ला तथा नगरतर्फ उपाध्यक्षमा निर्वाचित शान्ति कोषका संस्थापक उपाध्यक्ष प्रमोद श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रवासी म्याग्देलीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले देशको आर्थिक विकासमा निजी क्षेत्रमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जिल्लाको कृषि, पर्यटन, जलविद्युत, उद्योगलगायतका क्षेत्रमा लगानी गर्न प्रवासीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा एनआरएन कोरियाका निवर्तमान अध्यक्ष विनोद कुँवर, कावा अध्यक्ष ओमनारायण जुग्जाली र शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्र केसीले कोषमार्फत स्वदेश विदेशमा सञ्चालित गतिविधिलगायतको बारेमा चर्चा गरेका थिए । कार्यक्रम कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुनको सञ्चालन सम्पन्न भएको थियो । यसअघि दृष्टिविहिन जलन र सुस्मिता विकको परिवारलाई रत्नेचौरका झिल्के परियारले मलेसियामा सङ्कलित रकम पत्रकार कमल खत्रीको संयोजनमा शान्ति कोषका पदाधिकारीमार्फत हस्तान्तरण गरिएको थियो ।