गाउँपालिका प्रमुखको सुविधा जनतालाई दिन्छुः डमबहादुर पुन

0

अन्नपूर्ण गाउँपालिकाका प्रमुखलाई नेपाली काँग्रेसका उम्मेद्वार क्या.डमबहादुर पुनले गाउँपालिकाको प्रमुखमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने बताएका छन् । चुनाबी अभियानका क्रममा गाउँपालिका अन्र्तगत दोसल्लेमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै पुनले यस्तो घोषणा गरेका हुन् । घोरेपानीका सफल पर्यटन व्यवसायी र अवकाश प्राप्त भारतीय सैनिक रहेका पुनले समाजसेवा र अन्नपूर्ण गाउँपालिकाको समग्र विकासका लागि आफु राजनीतिमा होमिएको बताए ।

आमसभामा तिब्ल्याङ र दोसल्लेका सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।‘म राजनीतिमा सरकारी सेवासुविधा प्रयोग गर्न आएको होइन् । गाउँपालिका प्रमुखलाई के कस्तो सुविधा हुन्छ, मलाई थाहा छैन तर, जेजति हुन्छ, त्यो सबै जनतालाई नै दिनेछु’, उनले भनेका छन् । भारतीय सेनामा कार्यरत हुदाँ खेल क्षेत्रका स्वर्ण पदक विजेता समेत रहेका पुनले भारतीय दुताबासमार्फत म्याग्दीमा भौतिक पूर्वाधार सहितका योजना ल्याउन समेत विषेश भूमिका निर्वाह गरेको बताए ।

चुनावी सभाको क्रममा पुनले हरेक महिनाको तलव सुविधालाई गाउँपालिका अन्र्तरगतका सबै गाउँबस्तीका जनताले प्रयोग गर्ने गरी उपलब्ध गराउने र आफ्नो पहुँच र क्षमता अनुसार गाउँपालिकामा बाह्य लगानी भित्राउन निरन्तर प्रयास गर्ने बताए । उनले अन्नपूर्ण गाउँपालिकाका जनताका आधारभुत आवश्यकतालाई पुरा गर्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए । ’मैले जे बोल्छु त्यो गर्छु । भाषण गरेर जनतालाई आश्वासनमा सिमित राख्ने छैन’ उनले भने । पुन नेतृत्वको टोलीले गाउँपालिकाको विभिन्न वडामा चुनाबी अभियानलाई तीब्र बनाएका छन् । दोसल्ले निरप्रसाद पुनको सभापतित्वमा भएको कार्यक्रममा वडा ७का वडा अध्यक्षका प्रत्यासी गमबहादुर फगामी लगायतका नेताहरुले आमसभालाई सम्बोधन गरेका थिए । अन्नपुर्ण गाउँपालिका जिल्लामै आन्तरिक स्रोत बलियो भएको गाउँपालिका समेत मानिन्छ । राकेश शर्मा