म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको बहराईनमा १ सय २ जना आजिवन सदस्य भएका छन् । आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सक्रिय रहेको जिल्लाको एकमात्रै परोपकारी संस्था कोषलाई सहयोग जुटाउने म्याग्दी उद्धार समिति बहराईनले नयाँ बर्ष २०७४ को अवसरमा आयोजित कार्यक्रमबाट सुरु भएको आजिवन सदस्यता सहितको आर्थिक सङ्कलन अभियानको क्रममा १ सय जना कोषमा आवद्ध भएको समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए । आजिवन सदस्यताबाट १५ लाख ९ हजार ८७८ संकलन भएको छ ।

‘परोपकारी संस्थामा आवद्ध हुने क्रम जारी छ । धेरैले आर्थिक सहयोगको प्रतिबद्धता जनाइरहनुभएको छ’ उनले भने । बहराईनमा रहेका म्याग्देलीको साझा संस्था समेत रहेको समितिको कार्यक्रममा सहभागि हुन पुगेका शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्र कुमार केसी र सचिव लोकेश पुन मगरलाई भब्य स्वागत गदैं संस्थाको आजिवन सदस्यता लिएका थिए । बेनीअनलाइनका बहराईन संवाददाता रामचन्द्र पौडेलका अनुसार कोषमा आवद्ध हुनेको संख्या अझै बढ्न सक्ने बताए ।

उनले आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न कोषले खेलेको भूमिकाबाट नेपालीहरुका साथै विदेशी समेत उत्साहित भएको बताए । यता कोषको १ सय २ जना आजिवन सदस्यले १ करोड ५० लाखको अक्षय कोषको लक्ष्य प्राप्तीलाई सहज भएको अध्यक्ष राजेश शाक्यले बताए । ‘हामी आभारी छौ, जसले यो अभियानलाई सहयोग गर्नुभयो उहाँको सहयोग दुखी गरिवको उपचारमा प्रयोग हुनेछ’ शाक्यले भने । बहराईनमा रहेका म्याग्देलीको सक्रियताले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने समेत बताए । बहराईनबाट यसअगाडी कोषलाई म्याग्दी उद्धार समिति बहराईनले १ लाख, अध्यक्ष तेजेन्द्र थापाले १ लाख लगाएतले आर्थिक सहयोग समेत गरेका थिए ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि परिवारले उपचारबाट बचत रकमलाई गरिव परिवारको उपचारमा सहयोग गर्न ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको जिवन रक्षामा खेलको भूमिकाबाट बहराईनमा रहेका म्याग्देलीले विगतमा समेत धेरै सहयोग गरेका छन् । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका जटिल रोगको उपचारमा भइरहेको छ । आजिवन सदस्य, आर्थिक सहयोग संगै ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक बन्ने अभियानले समेत तिब्रता पाएको छ ।