म्याग्दीमा हुन्छ त कांग्रेस–माओवादी तालमेल ?

0

कांग्रेस र माओवादी विच स्थानीय तहको निर्वाचनमा तालमेलको हल्ला छ नी के हो ? मंगलबार म्याग्दीको सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा चुनावी छलफलमा एकजनाले जिज्ञासा राखे । तीन ठुला राजनीतिक दलमा आवद्ध रहेका विच भएको छलफलको क्रममा तालमेलको सम्भावनाको हल्ला सुनेपनि पुष्टी गर्ने सकेनन् । केहीदिन यता बजारका चोकचोक देखी गाउँसम्म तालमेल गरेर चुनावमा भाग लिने विषयले चर्चा पाइरहेको छ । विभिन्न राजनीतिक दलमा आवद्ध रहेका पार्टीका कार्यकर्ता देखी जिल्लास्तरका नेताहरूले समेत तालमेलको चर्चा गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताको दिन नजिकदैं जाँदा बजार देखी भान्छासम्म चर्चा पाएको कांग्रेस–माओवादीको तालमेलका बारेमा अझैपनि पार्टीका पदाधिकारीले खुलेरै प्रचारप्रसार गर्न सकेका छैनन् ।सामाजिक सञ्जालमा नेकपा एमालेका जिल्लास्तरका नेताहरुले समेत तालमेलको चर्चा गरेका छन् । नेपाली कांग्रेसले मेयरमा उम्मेदवारी घोषण गरेपनि उपप्रमुखको सार्वजनिक नर्गनु, माओवादीले उपप्रमुखको सार्वजनिक गरेपनि मेयरको चर्चा नगर्नु र विभिन्न औपचारिक छलफलमा दुवै पार्टीका नेताहरु सक्रिय भएपनि चुनावी तालमेललाई भने स्वीकार गरेका छैनन् । ‘राजनीतिक शक्ती विच छलफल हुन्छ, तालमेलका विषयमा कुनैपनि निर्णय भएको छैन’ नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले बेनीअनलाइनलाई भने ।

उनले जिल्लामा माओवादीसंग विकास निर्माण सहित जिल्लाका विभिन्न विषयमा छलफल र सहकार्य भएपनि चुनावी तालमेलका बारेमा बजारमा विपक्षीले अनावश्यक हल्ला चलाएको आरोप लगाए ।उनले वडास्तरको उम्मेदवार टुंगो लागिसकेको र गाउँपालिकाको प्रमुखमा समेत दुईवटाले प्रचारप्रसार गरेको बताउँदै बाँकीको समेत केहीदिनभित्र सार्वजनिक गरिने बताए । ‘चुनावी सहकार्यको छलफल गर्नु राम्रो अभ्यास भएपनि तालमेल भयो भन्नु गलत हो’ गर्बुजाले भने । यता नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोविन्द पौडेलले स्थानीय तहमा चुनावी अभियानमै ब्यस्त रहेको प्रतिक्रिया दिए । ‘हामी चुनावी योजना बनाउन ब्यस्त छौ, कांग्रेससंग छलफल भएपनि निश्चित छैन’ उनले भने ।

जिल्लामा माओवादीको उपस्थिती बलियो भएकाले यसपटक विपक्षीको आँकलनलाई माओवादीले विफल बनाउने समेत उनले तर्क गरे । ‘बेनीबजारभित्र तालमेलको हल्ला चलिरहेको अवस्थामा हिँदीमा वाईसीयले चुनावी अभ्यास गरिरहेको थाहाँ पाएनन्’ पौडेलले भने ।उनले राजनीतिका सहकार्यको सम्भावना रहेको बताउँदै तालमेलमा सहमति भएको हल्लाको पछाडी नलाग्न समेत कार्यकर्तालाई अनुरोध गरे । जिल्लाभर सम्मानजनक उपस्थितिमा सहकार्य हुने सम्भावनलाई भने अहिले नै अस्वीकार गर्न नसकिने प्रष्ट पारे । जिल्लाका उम्मेदवार छनौटको अन्तिम तयारीमा जुटेका कांग्रेस माओवादीको तालमेलको चर्चाले चुनावी माहोल थप पेचिलो भएको छ ।

यस्तो छ तालमेलको हल्ला ?
सत्तारुढ नेपाली कांग्रेस र माओवादी विचको तालमेल बेनी नगरपालिका, गाउँपालिका र वडास्तरसम्म हुने छ । बेनी नगरपालिकाका कांग्रेसले मेयर, माओवादी केन्द्र उपप्रमुखसंगै बेनपा भित्र रहेका १० वटामा आवश्यक सहमति र गाउँपालिकामा मंगला र धौलागिरिको प्रमुख र रघुगंगा, अन्नपुर्ण, मालिकाको उपप्रमुख माओवादीलाई दिइने छ । जिल्लाभर रहेका ४५ वटा वडामा काँग्रेस र माओवादी विच भागबन्डाका विषयमा समेत छलफल भइरहेको चर्चा छ । दुवै पार्टी विच पदको विभाजनका सहमति नभएकाले सार्वजनिक नगरिएपनि वडा अध्यक्ष देखी सदस्यसम्म प्याकेजमा सहमतिको प्रयास भइरहेका चर्चा चलेपनि दुवै पार्टीका प्रमुखले भने छलफल भएपनि भागबन्डाको विषयमा प्रवेश नगरेको बताउँछन् । दुवै पार्टीका नेताहरुले खुलेर बोल्न नचाहेपनि छलफलबाटै र उम्मेदवारको प्रचारप्रसारले समेत तालमेलको हल्लालाई सत्य सावित गर्ने सम्भावनलाई उत्तिकै बलियो छ ।