म्याग्देलीको लगानीमा बन्ने भयो २५ मेगावाटको जलविद्युत आयोजना

0

पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा म्याग्दीबासीको लगानीमा निर्माण हुने भएको छ। आयोजना निर्माणको विषयमा देखिएको विवादले निर्माण प्रक्रिया अगाडी बढ्न नसकिरहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका जिल्लाबासीको लगानीलाई प्राथमिकतामा राखेर निर्माणकार्य सुरू भएको दरवाङ कालिका हाईड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले बताए । उनले म्याग्दीबासीलाई जलविद्युतमा लगानी गर्न अनुरोध समेत गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका म्याग्दीबासीलाई धनी बनाउने उदेश्यले घरदैलो अभियान, अन्तरक्रिया कार्यक्रम, जलविद्युतको महत्व, भविस्यमा प्राप्त हुने नाफा सहित जलविद्युतमा लगानीको वातावरण बनाइरहेको बेनीअनलाइनलाई बताए । कुँवर र एनआरएन कोरियाका कार्यवाहक अध्यक्ष ओमनारायण जुग्जालीको पहलमा उर्जामन्त्री जनार्दन शर्मालाई कोरियामा जलविद्युत सम्बन्धि अन्र्तरक्रियामा सहभागि बनाएपछि कोरियामा रहेका म्याग्देलीले समेत लगानीको प्रतिबद्धता जनाइरहेका छन् ।

मालिका गाउँपालिका अन्र्तरगत पर्ने आयोजनास्थलको अध्यक्ष कुँवर,सञ्चालक समिति सदस्य चित्र पुन, अमृत गौचन लगाएत स्थानीय अगुवाले आयोजनास्थलमा भइरहेको पानी, माटो जाँच सहित निर्माण प्रक्रियाका बारेमा स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा आयोजनालाई आवश्यकता अनुसारको सहयोग गर्ने प्रभावित क्षेत्रका बासिन्दाले प्रतिबद्धता समेत जनाएका थिए ।

आयोजनाको लगानीको सम्बन्धमा विवाद भएपछि विद्युत खरिद सम्झौता सहित विभिन्न प्रक्रिया पुरा गरेपनि आयोजनाले गती लिएको थिएन् । पश्चिम म्याग्दीको विकासको प्रवेशद्धारको रुपमा समेत हेरिएको आयोजनालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रभावित क्षेत्रका स्थानीय रिमप्रकाश थापाले बेनीअनलाइनलाई बताए ।

पिपिए सम्झौतामा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति यूनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति यूनिट ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ। रन अफ द रिभर प्रकृतिको दरबाङ–म्याग्दीखोला दरबाङ देखी दुईकिलोमिटर माथी देविस्थान र ताकम धारापानी जाने भेदीखोालमा बाँध बाधेर ५ किलोमिटर टनेल हुदै दरबाङ र बावियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाइने छ । आयोजनाको प्रारम्भिक कुल लागत ३ अर्व ९३ करोड रहेको छ । सेयरबाट संकलन भएको रकम बाहेक बैंकबाट कर्जा लिएर आयोजना सम्पन्न गरिने छ ।