मृगौला रोगबाट ग्रसित म्याग्दीको मालिका गाउँपालिकाको विम गाउँका ३४ बर्षिया कुमार पुनको बिमबासीले २० लाख भन्दा धेरै आर्थिक जुटाएका छन् । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका पुनलाई बिमबाट स्वदे तथा विदेशमा पुगेकाहरूले सञ्चालन गरेको अभियानबाट २० लाख ६ हजार ७ सय आर्थिक सङ्कलन भएको अभियानका कोरिया संयोजक एवम् मोना आइसीका सह कोषाध्यक्ष ओमनारायण जुग्जालीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘बिमबासीको प्रयासमा पुनको उपचारमा सहयोग जुटाउन सफल भयौं ।आर्थिक सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछौ’ जुग्जालीले भन्नुभयो । आर्थिक अभावले उपचारमा समस्या देखिएको जानकारी पाएलगत्तै बिम समाज यूकेका मन्दिप जुग्जाली मगर, मोना हङकङका पुर्व अध्यक्ष दल शेर्बुजा, कतामा रहेका राजु जुग्जाली, पोर्चुगलबाट खिम जुग्जाली मगर, बेल्जियमा ललित जुग्जाली मगर, साउदी अरवमा देउ प्रसाद फगामी मगर र बिम काठमाण्डौ समाजका देउप्रसाद जुग्जाली मगर लगाएतले अभियान सञ्चालन गरेका थिए । अभियानमा म्याग्दीबासीका साथै विभिन्न जिल्लाबाट विदेशीएकाले समेत सहयोग गरेका थिए ।

पीडित पुनको केहीदिन अगाडी आफ्नी आमाको मृगौला प्रत्यारोपण गरिएको थियो । आर्थिक सहयोगले प्रत्यारोपण पछाडी आवश्यक पर्ने औषधी, नियमित चेकजाँचलाई समेत सहज भएको पीडित पुनले बताउनुभयो । ‘सहयोगबाट मैले नयाँ जीवन पाएको छु । सहयोगी मनलाई हृदय देखी धन्यवाद दिन चाहन्छु’ पुनले भन्नुभयो । बुधबार बिम काठमाण्डौ समाजले आयोजना गरेको कार्यक्रममा एनआएन कोरियाका कार्यवाहक अध्यक्ष जुग्जाली लगाएतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

विज्ञापन