सगरमाथा आरोहणमा रहेका शेरचनलाई सहयोग जुटाउँदै म्याग्देली

0

विश्वशान्ती र मानवजातीको हितको कामना गदैं सगरमाथा आरोहणमा रहेका ८६ वर्षीय मीनबहादुर शेरचनलाई मोना हङकङले दुई लाख आर्थिक सहयोग गरेको छ । हङकङमा रहेका म्याग्देली सहित नेपालीबाट सङ्कलन गरिएको मोना हङकङका अध्यक्ष इन्द्र एलजी थापा मगरले बेनीअनलाइनलाई बताए ।

मोना आइसीका संस्थापक अध्यक्ष एवम् संरक्षक प्रकाश पुन, मोना आइसीका महिला उपाध्यक्ष टिका गुरूङ सचिव तुल्म राम्जालीलाई मोना हङकङका निर्वतमान अध्यक्ष दल शेर्बुजा, अध्यक्ष इन्द्र एलजी मगर लगाएत पदाधिकारी सहितले हस्तान्तरण गरेका थिए । म्याग्देलीका गौरव, शाहसिक, इमान्दार र विश्वका जेष्ठ नागरिकहरुको प्रेरणाका श्रोत शेरचनको सफलतापूर्वक आरोहणका लागि म्याग्देलीले कामना गरेका छन् । आरोहणमा आवश्यक पर्ने १ करोड सङ्कलनको अभियानमा जुटेका म्याग्देलीले विश्वभरबाट सहयोग जुटाइरहेका छन् । शेरचन सगरमाथा आरोहणमा प्रस्थान गरेका छन् ।

यसैविच मोना कतारले समेत शेरचनलाई १५ हजार आर्थिक सहयोग गरेको छ । मोना कतारका अध्यक्ष रमेश पौडेलले आरोहणको सफलताको कामना गदैं संस्थागत सहयोग गरिएको बताउनुभयो । सन् २००८ मा ७८ वर्षको उमेरमा सगरमाथा चढेर सबैभन्दा पाको उमेरमा सगरमाथा चढेको विश्व रेकर्ड बनाएका शेरचन ले पर्वतारोहणको तयारीका लागि शारीरिक रुपमा तन्दुरुस्त रहन उनले पटक–पटक नेपालको पूर्व–पश्चिम, उत्तर–दक्षिण पदयात्रा, धौलागिरि हिमालको ५७ सय मिटर उचाईसम्म आरोहण, नियमित ब्यायम, पर्वतारोही लाई अभ्यास चाहिने भएकाले २० बर्ष देखी नियमित अभ्यास समेत गरिरहेका छन् ।

सन् २०१३ र २०१५ मा सगरमाथ आरोहणको प्रयास गरेपनि मौषममा आएको खरावी र महाविनाशाकारी भूकम्पका कारण आधार शिविरबाटै फर्किएका थिए । शेरचनको सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहणको विश्व रेकर्ड सन् २०१३ मा ८० वर्षीय जापानी पर्वतारोही युचियो मिउराले तोडेका थिए । सो रेकर्ड फर्काउन शेरचनले दुईपटक गरेको प्रयास मौषम र प्राकृत्तिक विपत्तीले साथ नदिएपनि यसपटक आरोहण गरेरै फर्कने बताएका छन् ।