म्याग्दीको सदरमुकाम बेनीमा शक्ती प्रर्दशन गरेर स्थानीय तहको निर्वाचन खारेजीको माग गरेको नेपाल कम्युष्टि पार्टीले निर्वाचनको बहिस्कारलाई सशक्त बनाउने परिचालित भएको छ । निर्वाचन खारेजीको पोष्टर समेत प्रशासनको अगाडीबाटै टाँस्दै अभियानलाई गाउँकेन्द्रित गरेको नेकपा म्याग्दीले पोलिटब्यूरो सदस्य उमा भुजेलको उपस्थिीतिमा चुनाव विरोधी सभा लगत्तै आफ्ना नेता तथा कार्यकर्तालाई परिचालन गरेको पार्टी स्रोतले जनाएको छ ।

नेपाली जनताको हित विपरितको निर्वाचनमा सहभागि नहुन अपिल गरेका छौं।कुनैपनि गरिव जनताले चुनाव जित्ने छैनन्’नेकपाका नेता धुव्र घिमिरेले बेनीअनलाइनलाई भने । उनले जनताको विचबाटै निर्वाचन खारेजीको माग गरिएको बताउँदै निर्वाचन गरिव जनतालाई प्रयोग गरेर धन कमाउने माध्यम भएको बताए ।उनले वडास्तरबाटै लाखौंको आर्थिक चलखेल गरेर चुनाव जित्ने र पदमा पुगेपछि जनताको करले सङ्कलन भएको स्रोतलाई दुरुपयोग गर्ने गरिएको बताउँदै यस्ता गतिविधिलाई निस्तेज पार्न निर्वाचन बहिस्कार गर्न समेत उनले अपिल गरेका छन् ।

‘हामी निर्वाचन विरोधी होईन्,निम्मवर्गको प्रतिनिधित्व हुनुपर्छ, सामन्तीहरूको हालिमुहाली हुने निर्वाचन स्वीकार्य छैन’ उनले भने । माओवादी जनयूद्धमा समेत सैन्य विभागमा सक्रिय भएका घिमिरे तत्कालिन समयमा समेत म्याग्दीमा निकै चर्चित थिए । नेकपाले विद्यार्थीहरूको निर्वाचनलाई बहिस्कार नगरी सहभागिता जनाएको बताउँदै निर्वाचनबाट डराएको भन्नेहरूलाई चुनौती समेत दिएका छन् । माओवादीबाट विभाजित भएर मोहन बैद्य हुदै अर्को पार्टी खोलेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको प्रभाव जिल्लाको केही क्षेत्रमा देखिन्छ ।

ज्यामरुककोट, भकिम्ली, रुम, विम लगाएतका बस्तीमा उनीहरूको प्रभाव देखिएकाले पनि प्रहरी प्रशासनले समेत निगरानी सुरु गरेको छ । नेकपाका केन्द्रियस्तरका नेताहरू समेत गोप्य रुपमा जिल्लामा परिचालित हुने हल्ला सुनिएपनि म्याग्दीमा कुनैपनि नेताहरूको उपस्थितीका बारेमा सुरक्षा निकाय समेत अनविज्ञ छ ।गत महिना बेनी नगरपालिका र मंगला गाउँपालिकामा तालाबन्दी सहितका कार्यहरू भएपनि कसले संलग्नता थियो भन्नेमा अझै पत्ता लाग्न सकेको छैन् । जिल्लामा निर्वाचनको माहोल भने चुलिएको छ । जनस्तरबाटै निर्वाचनको तयारीमा जुटेका राजनीतिक दलले दुईदिन भित्र अन्तिम टुंगो लगाए लगत्तै थप तिब्रता दिनेछन् ।