बेनी नगरपालिका–३ भकिम्लीका वडा अध्यक्षका उम्मेदवार जस बहादुर पुनलाई अपहरण गरिएको छ । स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पुनलाई भकिम्लीबाट सदरमु्काम बेनी आउँदै गर्दा बाटोबाट अज्ञात समुहले अपरहण गरेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

पार्टीको कामको सिलसिलामा सदरमुकाम तर्फ आएका पुनःसम्पर्कविहिन भएपछि खोजीकार्यको क्रममा अपहरण भएको हुनसक्ने अनुमान गरिएको छ । यता प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सम्पर्कविहिन भएपछि खोजीकार्य भइरहेको बताए । उनका अनुसार विहान ११ः३० बजे घरबाट आन्तरिक छलफलका लागि भन्दै बेनी आइरहेको अवस्थामा अज्ञात समुहको नियन्त्रणमा परेको परिवारले जानकारी गराएपछि खोजीकार्यका लागि प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

स्थानीय निकायको निर्वाचनमा भकिम्लीबाट अध्यक्षमा उम्मेदवार दिएपछि चुनावी प्रचारप्रसारमा जुटेका पुन र कांग्रेसलाई त्रसित बनाउन अपहरण गरिएको गाउँ कार्यसमितिले जनाएको छ । गाउँका इमान्दार र समाजसेवी समेत रहेका पुनको अपहरणको जानकारी पाएपछि भकिम्लीबाट समेत खोजीकार्य भइरहेको छ । भकिम्ली र बरंजाको आसपासका क्षेत्रमा पुनलाई राखिएको हुनसक्ने अनुमान गरिएको छ। यसैविच अपहरणमा परेपछि आफन्तसंग एकपटक सम्पर्क भएको र आफुँ सकुशल रहेको बताएपनि त्यसपछि सम्पर्कविहिन भएको परिवार स्रोतको भनाई छ ।

विज्ञापन