आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट प्रमोद श्रेष्ठ चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । निर्वाचनमा सहभागि हुने उम्मेदवारको मनोनयन दर्ताको अघिल्लो दिन पार्टीले उम्मेदवारको टुंगो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुंगो लागेको पार्टीले जनाएको छ । नेकपा एमालेमा मेयर पदका आकांक्षी १० जनाबाट आन्तरिक छनौट गरी ३ जना प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुदै प्रदेश नम्बर ४ को कमिटीमा सिफारिस गरिएको थियो ।

प्रदेश कमिटीमा निकै प्रतिस्पर्धा मानिएका श्रेष्ठ र केसीको नाम अन्तिम चरणसम्म चर्चामा रहेपनि श्रेष्ठलाई उम्मेदवार बनाउने टुंगो लागेको स्रोतको भनाई छ ।मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुदैछ । यसैविच नेपाली कांग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुंगो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ । १० वटा वडा रहेको बेनी नगरपालिका भित्र पुरुष ८ हजार ५०३, महिला ९ हजार ८४२ गरी कुल १८ हजार ३४५ जना मतदाता रहेका छन् ।

विज्ञापन