रघुगंगा गाउँपालिकाको आन्दोलनरत पक्ष बहिस्कारलाई स्थगित गरी चुनावी मैदानमा उत्रिने तयारीमा जुटेका छन् । जिल्लाबाट दुईवटा स्थानका तोकेर केन्द्रमा प्रस्ताव गरिएपछि आयोगले अस्थायी केन्द्र पाखापानीमा तोकेपछि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । स्थानीय तहको निर्वाचनमा सहभागि हुन आवश्यक पर्ने मनोनयन दर्ता मंगलाबार तोकिएपछि आन्दोलित पिप्ले, भगवती र बेगखोलाका राजनीतिक दल विच आन्दोलनलाई निरन्तरता दिने विषयमा फरक फरक भनाईहरू सार्वजनिक भएपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचनमा भाग लिने तयारी गरेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र विच छलफल भएको छ । नेकपा एमाले यूवा नेता दिपक विर्खचीका अनुसार बाम एकता गरेर निर्वाचनमा सहभागि हुने विषयमा छलफल भइरहेको बताए । ‘आन्दोलनमा धोका दिनेहरुका बारेमा जनताको उपस्थितीमै प्रष्ट पार्नेछौ, गाउँपालिकाको केन्द्रलाई ल्याउनका लागि समेत निर्वाचनको विकल्प देखिएन’ उनले भने । नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच चुनावी तालमेलका विषयमा गाउँपालिकास्तरमा छलफल भइरहेको छ ।

दुवै पार्टी विच तालमेलको सम्भावनासंगै नेपाली कांग्रेसले समेत पार्टीको तर्फबाट मनोनयन दर्ताको तयारी गरेको छ । नेकपा एमालेले कांग्रेसले आन्दोलनलाई अलपत्र पारेको आरोप लगाएको छ भने त्यसलाई कांग्रेसले ठाडो अस्वीकार गरेको छ । कांग्रेस र माओवादी केन्द्र विच भएको चुनावी तालमेलमा नेकपा एमालेसंग जिल्ला देखी गाउँपालिका सम्म तालमेल नगर्ने सहमति पक्षमा हस्ताक्षर भएको भन्दै त्यस्तो भए जिल्लाभरको तालमेल भंग हुने चेतावनी समेत कांग्रेसले दिएको छ ।

अस्थायी केन्द्र पाखापानी तोकिएपछि तीन ठुला दलको संयुक्त विरोध कार्यक्रमसंगै जिल्ला देखी केन्द्रसम्म ज्ञापनपत्र र दवावमुलका कार्यक्रम सञ्चालन गरिएको थियो । विवादित गाउँपालिकाका यूवाले समुह नै बनाएर अन्तक्रिया सहित विभिन्न दवावमुलक कार्यक्रम समेत सञ्चालन गरेका थिए । यता अस्थायी केन्द्र निर्वाचन प्रयोजनका लागि मात्रै भएको भन्दै निर्वाचित प्रतिनिधिको पहिलो बैठकले गाउँपालिकाको केन्द्र टुंगो लगाउने राजपत्रमा उल्लेख छ । विवादित गाउँपालिकामा हुने निर्वाचन पेचिलो हुने देखिन्छ ।

विज्ञापन