जिल्लाभर निर्वाचनको माहोल बनिरहेको अवस्थामा सोमबार भकिम्लीबाट सदरमुकाम बेनी आउँदै गरेका बेनी नगरपालिका–३ भकिम्लीमा स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका क्याप्टेन जस बहादुर पुनलाई नेपाल कम्युनिष्ट माओवादीका जिल्लास्तरका नेताहरू सहितको उपस्थितीमा भकिम्लीबाट अपहरण गरियो ।

स्थानीय तहको निर्वाचन खारेजीको माग गदैं बहिस्कार र अवरोधको रणनीति लिएर अगाडी बढेको नेकपाले योजनाबद्ध तरिकाले कांग्रेसका भकिम्लीका नेतालाई अपहरण गरेपछि सोमबार दिनभर स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यममा समेत प्राथमिकता साथ स्थान पायो । नाटकीय तथा जनयूद्धको झल्को दिने गरी नेकपाले अपहरण गरेर भकिम्ली हुदै बरंजासम्म पुर्याएर सोमबार राती अपहरणमुक्त गरेका पु्न प्रहरी, शसस्त्र र तरुण दलका नेताकार्यकर्ताको उपस्थितीमा राती ११ बजे सदरमुकाम बेनी आएका थिए । उनलाई बरंजाको धापुङबाट छोडिएको थियो । स्थानीय तहको निर्वाचनमा ४५ वटा वडा रहेको म्याग्दीमा नेकपाको रोजाईमा क्याप्टेन पुन किन परे भन्ने बहस समेत चलिरहेको छ ।

भकिम्लीका इमान्दार र सक्रिय पुनको लोकप्रियता वा प्रहरी प्रशासनको अनुपस्थितीमा अपहरण गरेर लैजान सहज हुने स्थान भएकाले रोजाईमा परे भन्नेमा धेरैको अनुमान रहेपनि अपहरणको कारण भने खुलाइएको छैन् । सोमबार करिव १२ बजे अपहरणमा परेपछि पुनलाई नेकपाका जिल्लास्तरका नेताहरू सहितको उपस्थितीमा जिल्ला इन्र्चाज गम बहादुर श्रीषको घरमा खाना खुवाएर बरंजाको माथिल्लो क्षेत्रमा पुर्याइएको थियो । करिव ९ जनाको उपस्थिती रहेको बुझिएपनि सबै विवरण सार्वजनिक गरिएको छैन् ।

नेकपाका जिल्ला इन्र्जाज श्रीषले बेनीअनलाइनसंग कुराकानी गदैं अपहरणको पुष्टी गरेका छन् । उनले पार्टीको योजना स्थानीय तहको निर्वाचन खारेजी भएकाले पनि निर्वाचनमा सहभागि हुने जो कोही पनि अपहरणमा पर्न सक्ने भन्दै उम्मेदवारी फिर्ता लिन चेतावनी दिएका छन् । ‘उहाँको अपहरण सांकेतिक हो, अझै योजनाबद्ध तरिकाले अगाडी बढ्नेछौ’ श्रीषले भने । उनले सजिलो भएकाले पुनको अपहरण गरिर्एकाले बताउँदै विदेशीको इसारामा गार्उँगाउँमा नयाँ दलालहरु खडा गर्न खोजिएको र जनतालाई पैसामा खरिद गर्ने प्रयास गरिएकाले अवरोध गर्न गाउँलेलाई समेत अनुरोध गरेका छन् । उनले मनोनयन दर्ता गरेकालाई फिर्ता लिन समेत अनुरोध गरिएको समेत बताए । पार्टीका गाउँस्तरका नेतालाई अपहरण गरेपछि कांग्रेसले समत कडा शब्दमा निन्दा गरेको छ ।

स्थानीय तहमा देखिएको जनलहरबाट अतालिएर उम्मेदवारलाई अपहरण गरिएको बताउँदै यस्ता गतिविधिलाई रोक्न समेत माग गरेको छ । यता उम्मेदवार नै अपहरणमा परेपछि प्रहरीले समेत सुरक्षा ब्यवस्था कडा बनाएको छ । उम्मेदवारको सुरक्षा गर्न र नियमित सम्पर्कमा रहने गरी पार्टीसंग समेत नियमित सम्पर्क भइरहेको सुरक्षा अधिकारीको भनाई छ । यसैविच पुनलाई अपहरण गरेको भन्दै जयन्ती मावि भकिम्लीको ट्याक्टर तोडफोड भएको र कुटटिप भएको ब्यवस्थापन समितिले आरोप लगाएको छ । तोडफोडमा संलग्नलाई कारवाहीको माग समेत गरिएको छ ।