म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा बिहीबार नेकपा एमाले म्याग्दी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त रुपमा घरदैलो तथा चुनाबी सभा सम्पन्न भएको छ । नजिकिँदै गरेको बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेका एमाले र राप्रपाले संयुक्त कार्यक्रम गरेका हुन् ।

चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले देशको अग्रगामी विकास गर्न एमालेलाई भोट दिनुपर्ने बताएका छन्। उनले देशको आर्थिक विकास गर्ने योजना एमालेसँग मात्रै भएको बताउँदै स्थानीय तहको निर्वाचनमा एमालेले जितेपछि देशमा विकासको लहर सिर्जना हुने र युवाले रोजगारी पाउने बताए ।

राष्ट्रियताको रक्षाका निम्ती राष्ट्रवादी शक्तिका उम्मेदवारलाई अमुल्य मत दिएर जिताउनु आवश्यक रहेको केन्द्रीय सदस्य थापाको भनाई छ ।सोही सभामा नेकपा एमाले म्याग्दीका उपसचिव देवबहादुर घलेले संविधान जारी भई कार्यान्वयन नभैसकेको अवस्थामा संविधान संशोधनको गर्न नहुने भन्दै तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।

कार्यक्रममा एमाले सचिवालय सदस्य सुरत केसी र जिल्ला सदस्य कृष्णकुमार विश्वकर्माले एमालेको जित सुनिश्चित रहेको बताउँदै वर्तमान समयमा राष्ट्रवादी शक्ति एक भएको हुँदा सुर्य र गाई चिह्नमा मतदान गरी जिताउनुपर्ने बताएका छन् ।कार्यक्रममा गठबन्धनबाट मेयरका प्रत्यासी प्रमोद श्रेष्ठले देशकै नमुना नगरपालिका बनाउने आफुहरुको योजना रहेको बताउँदै मतदाताहरुलाई अमुल्य मत दिएर जिताउन अनुरोध गरेका छन् ।

उनले नगरपालिकाको नेतृत्वमा आफु आएमा नगरपालिकाका सबै वडामा पक्की सडक निर्माण गर्ने, प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन, नगर क्षेत्रमा पक्की पुल निर्माण, सामूहिक तरकारी र फलफुल खेती विस्तारलगायतका कामहरु गरिने बताए । उपमेयरकी उम्मेदवार सन्जु थापा बरुवालले म्याग्दीको बेनी नगरपालिकालाई सुन्दर नगरपालिका बनाउने आफुहरुको लक्ष्य र उद्देश्य रहेको भन्दै मतदातालाई गठबन्धनको सुर्य र गाई चिह्नमा अमुल्य मत दिएर जिताउन अनुरोध गरेकी थिइन् ।

कार्यक्रममा बेनपा–४ वडाका महिला सदस्य उम्मेदवार दुर्गा कार्की बानियाँ र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले मन्तव्य राखेका थिए । एमाले सङ्गठन कमिटीका संयोजक खडानन्द कँडेलको अध्यक्षता र जिल्ला लेखा आयोग अध्यक्ष चन्द्रकुमार केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरुले जनवादी गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । प्रताप बानियाँ

विज्ञापन