बेनी नगरपालिका–३ भकिम्लीका कांग्रेस वडा अध्यक्षमा उम्मेदवार क्याप्टेन जस बहादुर पुनलाई अपहरण गरी करिव ९ घण्टा बन्धक बनाएर स्थानीय तहको निर्वाचनको खारेजीको माग गरेको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले आगामी बैशाख ३१ गते सम्पन्न हुने निर्वाचनमा सहभागि मतदातालाई अपिल गरेको छ । ‘मतदान नगर्न गाउँगाउँमा अनुरोध गरिरहेका छौ ।गरिव जनतालाई प्रयोग गरेर विदेशीका एजेण्डहरूले गाउँमै नयाँ एजेण्डहरू राख्ने प्रयास मात्रै हो’ नेकपाका जिल्ला सेक्रेटरी गम बहादुर श्रीषले भने ।

उनले गरिव जनतालाई एउटा सदस्यमा लोभ देखाएर पैसाको खोलो बगाउने गरी हुन लागेको स्थानीय तहको निर्वाचनलाई खारेजी गर्न मतदान प्रक्रिया बहिस्कार एउटा विकल्प भएको समेत बताए ।उम्मेदवार अपहरणमा प्रत्यक्ष सहभागि भएको प्रहरीले जनाएपछि सदरमुकाम बाहिर रहेका श्रीषले जिल्लाभित्र आफ्ना कार्यकर्तालाई परिचालन गरिएकाले निर्वाचन अवधिभर उम्मेदवारी फिर्ता र निर्वाचन नलड्ने घोषाणा गर्न उम्मेदवारलाई समेत चेतावनी दिएका छन्। माओवादी जनयूद्धमा सैन्य विभागमा काम गरेका धुव्र घिमिरे, दुईपटक सांसद भएका जिल्ला इन्र्चाज श्रीष सहित यूद्धका दर्जनौ मोर्चामा सहभागि भएका लडाकुहरू नेकपामा सक्रिय छन् ।

जिल्लामा नेकपाको भकिम्ली, बरंजा, रुम, बिम लगाएतका क्षेत्र अन्य ठाउँको तुलनामा धेरै छ । ‘निर्वाचनलाई प्रयाप्त सुरक्षा दिने प्रयासमा छौ । निर्वाचन प्रयोजनका लागि सुरक्षा फौजको समेत थप गरिएको छ’ प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने। उनले मतदान केन्द्रसम्म सुरक्षा सयन्त्र परिचालन भइसकेको बताउँदै सुरक्षित तरिकाले मतदान प्रक्रियामा सहभागि गराउने बताए। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाबासीको समेत सहयोगको आवश्यकता रहेको बताए । प्रशासनले जिल्लाभरका उम्मेदवारलाई नियमित सम्पर्कमा राख्न समेत दलसंग सहकार्य गरिरहेको छ