नेकपा एमाले म्याग्दीले शनिबार जिल्लाको विभिन्न ठाउँमा चुनाबी आमसभा र मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचन आउन एक साता बाँकी रहँदा चुनाब प्रचार अभियानलाई तिब्रता दिएको एमालेले जनाएको छ । यसैक्रममा आज बेनपा–९ वडाको घतानमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले मुलुक स्थानीय तहको निर्वाचनमा होमिएकाले तोकिएको समयमा चुनाव सम्पन्न गर्नुपर्ने बताए ।

उनले अहिलेको समयमा राष्ट्रियता जोगाउन एमाले र राप्रपाले तालमेल गरेको हुँदा आफ्ना उम्मेदवारलाई जिताउनु अनिवार्य रहेको बताएका थिए । सोही आमसभामा राप्रपाका केन्द्रीय सदस्य एवं भूतपूर्व राज्यमन्त्री भीमप्रसाद गौचनले एमाले र राप्रपाले चुनाबी तालमेल गरी नगरपालिकामा सक्षम र योग्य व्यक्तिहरुलाई मैदानमा उतारेको बताउँदै समग्र नगर क्षेत्रको विकासका लागि एमाले–राप्रपाको गठबन्धनलाई जिताउन मतदातासमक्ष आग्रह गरेका छन् । मेयर र उपमेयरका प्रत्यासीद्वय प्रमोद श्रेष्ठ तथा सञ्जु थापा बरुवालले देशकै नमुना नगरपालिका बनाउने आफुहरुको लक्ष्य र योजना रहेको बताउँदै मतदाताहरुलाई अमुल्य मत दिएर जिताउन अनुरोध गरेका थिए ।

कार्यक्रममा एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरत केसी, सल्लाहकार जीवनबहादुर विश्वकर्मा, बेनपा–९ का दलित महिला सदस्य उम्मेदवार गोरी दर्जीले मन्तव्य राखेका थिए । कार्यक्रम एमाले बेनपा–९ का अध्यक्ष रुद्र रेग्मीको अध्यक्षता, सचिव तेजेन्द्र बानियाँको सञ्चालन र वडा अध्यक्षका उम्मेदवार बेलबहादुर चोखालको स्वागतमा सम्पन्न भएको थियो ।

यसैगरी शनिबारै पश्चिम म्याग्दीको रुमको डाँडागाउँमा पनि एमालेको चुनाबी आमसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सांसद नवराज शर्माले देश अहिले एमालेको नीति, कार्यक्रमअनुसार अगाडि बढेको हुँदा आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्ने बताए । उक्त कार्यक्रममा एमाले म्याग्दीका सचिवालय सदस्य सन्तोष रावल, मोतीराज उपाध्याय, लेखा आयोग अध्यक्ष चन्द्रकुमार केसी, युवा संघ धौलागिरि अध्यक्ष नारायण जिसी, धौलागिरि गाउँपालिका उम्मेदवारद्वय बेगप्रसाद गर्बुजा, खरमाया बिटालुले मन्तव्य राखेका थिए ।

सोही अवसरमा अनुप गौचन संयोजक, सविना पुन सहसंयोजक, चन्द्र जुग्जाली सचिव र तारामान बुढाथोकी कोषाध्यक्ष रहेको ४१ सदस्यीय युवा संघको मालिका गाउँपालिकास्तरीय सङ्गठन कमिटी गठन गरिएको छ । त्यस्तै गौचनकै संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचनका लागि युवा परिचालन कमिटी समेत गठन भएको बताइएको छ । कार्यक्रम स्थानीय कार्यकर्ता नवरत्न शेरचनको अध्यक्षता र सन्तोष सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच अन्नपूर्ण गाउँपालिकाको घारमा पनि एमालेले चुनाबी सभा सम्पन्न गरेको जानकारी दिएको छ । सभालाई एमाले केन्द्रीय स्वास्थ्य विभाग सदस्य एचपी बरुवाल, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल, एमाले पूर्व जिल्ला सचिव रामबहादुर बिसी, शिव बरुवाल, अन्नपूर्ण गाउँपालिकाका उम्मेदवार नारायण पुन र दुर्गादेवी पूर्जाले मन्तव्य राखेका थिए । कार्यक्रम एमालेका सल्लाहकार खड्क गिरीको सञ्चालन र राजाराम बरुवालको स्वागतमा सम्पन्न भएको थियो ।

त्यस्तै बेनपा ५ डडुवाको कार्यक्रममा बोल्दै एमाले वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले स्थानीय तहको निर्वाचनमा एमालेले जितेपछि देशमा विकासको लहर सिर्जना हुनेहुँदा युवाले रोजगारी पाउने भएकाले एमालेको पक्षमा मतदान गर्न स्थानीयलाई आग्रह गरेका थिए । वडा अध्यक्ष भोजबहादुर कार्कीको अध्यक्षता र डम्बरबहादुर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले सचिवालय सदस्य सुरत केसी र जिल्ला सदस्य कृष्णकुमार विश्वकर्माले मन्तव्य राखेको थिए । बेनपा ९ को काउलेगौंडा र काफलडाँडामा गरिएको कार्यक्रममा राप्रपा, जनमोर्चा र नेपाली काँग्रेस परित्याग गरी रामबहादुर थापा, अम्मर भण्डारी र लालु परियार एमालेमा प्रवेश गरेको वडा सचिव तेजेन्द्र बानियाँले जानकारी दिएका छन् ।