‘यसपटक सगरमाथ आरोहण गरेर जन्मभूमीमा खुसीयाली मनाउन आउँछु’ गत चैत्र महिनाको दोस्रो साता म्याग्दीको सदरमुकाम बेनीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा ८६ वर्षीय मीनबहादुर शेरचनले म्याग्दीबासीलाई बाचा गरेका थिए । म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा शेरचनले आरोहण सफल भएलगत्तै खुसीयाली मनाउन गृहजिल्लामा आउने प्रतिबद्धता जनाएपनि उनको सपना अधुरो भएको छ ।

शनिबार साँझ सगरमाथा आधार शिविरमा निधन भएपछि उनले म्याग्दीबासीलाई सुनाएका भावी योजना समेत चकनाचुर भएको छ ।विश्वशान्ती र मानवजातीको हितको कामना गदैं आरोहणमा रहेका शेरचनको निधनको खवरले जिल्लाबासी शोकमा डुवेका छन् । म्याग्देलीका गौरव,शाहसिक, इमान्दार र विश्वका जेष्ठ नागरिकहरुको प्रेरणाका श्रोत शेरचनको सफलतापूर्वक आरोहणको कामना गरिरहेको बेला निधनको खवर सुनेपछि स्तब्ध भएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए । ‘जिल्लाबासीलाई अपुरणीय क्षती पुगेको छ।

विश्वभरका जेष्ठ नागरिकका गौरवको अवसानको खवरले दुखित छौ’ शाक्यले भने।उनले विश्वमा म्याग्दी जिल्ला र म्याग्देलीको शीर उच्च बनाउने शेरचनको आरोहणमा समेत आर्थिक सङ्कलन तथा सहयोग जुटाइरहेको समेत बताए । जिल्लाको अन्नपुर्ण गाउँपालिका अन्र्तरगत भूरुङ तातोपानीका शेरचनको आरोहणलाई सफल बनाउन विश्वभर रहेका म्याग्देलीले करिव १ करोड आर्थिक सङ्कलनको अभियान समेत सञ्चालन गरिरहेका थिए ।

आरोहणका दैनिकजसो सामाजिक सञ्जालमार्फत सुचना प्राप्त गरिरहेका थिए । आरोहण सुरू गरेको २२ दिनसम्मको खवरबाट उत्साहित जिल्लाबासीले शनिबारको निधनको खवर सुनेका थिए । सन् २००८ मा ७८ वर्षको उमेरमा सगरमाथा चढेर सबैभन्दा पाको उमेरमा सगरमाथा चढेको विश्व रेकर्ड बनाएका शेरचनले पर्वतारोहणको तयारीका लागि शारीरिक रुपमा तन्दुरुस्त रहन उनले पटक–पटक नेपालको पूर्व–पश्चिम, उत्तर–दक्षिण पदयात्रा, धौलागिरि हिमालको ५७ सय मिटर उचाईसम्म आरोहण, नियमित ब्यायम, पर्वतारोही लाई अभ्यास चाहिने भएकाले २० बर्ष देखी नियमित अभ्यास समेत गरिरहेका छन् ।

सन् २०१३ र २०१५ मा सगरमाथ आरोहणको प्रयास गरेपनि मौषममा आएको खरावी र महाविनाशाकारी भूकम्पका कारण आधार शिविरबाटै फर्किएका थिए । ‘कुनैपनि हालतमा आरोहण गरेरै फर्कने छु, मरेर जाने छैन’ शेरचनले भनेका थिए । उनले आरोहण लगत्तै विश्वभरका जेष्ठ नागरिकको सम्मान, जेष्ठ नागरिक संग्रालय सहित विभिन्न योजनाहरू बनाएको बताउँदै केही महत्वपूर्ण योजना आरोहण गरेर फर्किएपछि सुनाउने बताएका थिए ।

शेरचनको आरोहणलाई लक्षित गरेर बेलायत, हङकङ लगाएतका देशमा च्यारेटी कार्यक्रम समेत सञ्चालन भइरहेका थिए । सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहणको विश्व रेकर्ड सन् २०१३ मा ८० वर्षीय जापानी पर्वतारोही युचियो मिउराले तोडेका थिए । सो रेकर्ड फर्काउन शेरचनले दुईपटक गरेको प्रयास मौषम र प्राकृत्तिक विपत्तीले साथ दिएको थिएन् । उनले म्याग्दीमै रहेको धौलागिरि हिमाल सहित लामो दुरीको पदयात्रा समेत गरेका थिए। राजनीतिक ब्यक्तित्व समेत रहेका शेरचनलाई जिल्लामा सम्मानसमेत गरिएको थियो ।यसैविच स्थानीय तहको निर्वाचनको तयारीमा ब्यस्त रहेका राजनीतिक दल र उम्मेदवारले समेत दुख ब्यक्त गरेका छन् ।