स्थानीय तहको निर्वाचन हुने दिन एक साता बाँकी रहँदा म्याग्दी जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाबकेन्द्रीत गाउँ अभिायनलाई तिब्रता दिएका छन् । यसैक्रममा आइतबार बेनी नगरपालिका र विभिन्न गाउँपालिकामा राजनीतिक दलहरुको कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले बेनी नगरपालिका–१० पात्लेखेतमा चुनाबी आमसभा सम्पन्न गरेको जानकारी दिएको छ । सभालाई सम्बोधन गर्दै मेयरका प्रत्यासी प्रमोद श्रेष्ठले बेनी नगरपालिकालाई रिङरोडका रुपमा विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरु रहेको बताए ।

उनले नगरपालिकाको सबै वडामा पक्की सडक, पुल निर्माण, होटल स्थापना, अस्पताल सञ्चालनलगायतका विकासका पूर्वाधारहरु बनाउने आफ्नो योजनाहरु सुनाउँदै मतदाताहरुलाई भोट मागेका छन् ।सोही कार्यक्रममा राप्रपाबाट उपमेयरका प्रत्यासी सञ्जु थापा बरुवालले देशकै नमुना नगरपालिका बनाउने आफ्नो लक्ष्य र योजना रहेको हुँदा महिलाका समस्यालाई प्राथमिकता दिएर आफूले काम गर्ने बताउँदै मतदाताहरुलाई अमुल्य मत दिएर जिताउन अनुरोध गरेकी छिन् ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं भूपू राज्यमन्त्री भीमप्रसाद गौचन, एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरत केसी र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले मन्तव्य राखेका थिए । वडाध्यक्षका प्रत्यासी कृष्णबहादुर मल्लको अध्यक्षता र समिर रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सदस्य डिपी शर्माले स्वागत गरेका थिए । एमालेको ओख्ले र वाखेतमा पनि चुनाबलक्षित कार्यक्रम सम्पन्न भएको छ।

यसैगरी शनिबारै अन्नपूर्ण गाउँपालिकाको घराम्दी र हिस्तानमा पनि चुनाबी कार्यक्रम सम्पन्न भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमलाई एमालेका सचिवालय सदस्य सन्तोष रावल, गाउँपालिका प्रत्यासीद्वय नारायण पुन र दुर्गा पूर्जाले सम्बोधन गर्दै मत मागेका छन् ।त्यस्तै धौलागिरि गाउँपालिकाको धारापानीमा चुनाबी आमसभा सम्पन्न भएको छ । सभालाई एमालेका पोलिट व्युरो सदस्य थममाया थापा, गाउँपालिकाका उम्मेदवार थमसरा पुन, रेशम छन्त्याललगायतले सम्बोधन गरेको एमालेले जनाएको छ ।
त्यसैगरी एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाको प्रमुख आतिथ्यमा ओखरबोटमा चुनाबी कार्यक्रम सम्पन्न भएको बताइएको छ । जिल्लाको रघुगंगा गाउँपालिकाको झिँ र पाखापानीमा आयोजित कार्यक्रममा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी, युवा संघ म्याग्दीका अध्यक्ष प्रवीन शाही, गाउँपालिका उम्मेदवार खिम शाहीलगायतले मन्तव्य राखेका छन् ।यसैबीच बेनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा तालमेल गरेका नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि आइतबार संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

बेनपा–४ वडाको सिङ्गा, सुर्केमेला, थामडाँडा, सोता र ठूलोखोलामा घरदैलो कार्यक्रम गरी तातोपानी पुगेर चुनाबी सभा गरिएको ती पार्टीले जनाएका छन् ।तातोपानीको चुनाबी आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसको मेयर पदका उम्मेदवार हरिकुमार श्रेष्ठले नगरपालिकालाई सक्षम र आर्थिक रुपमा सम्पन्न बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले काँग्रेसकै नेतृत्वमा देशमा शान्ति र संविधान आएको बताउँदै आगामी चुनाबमा काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

कार्यक्रममा माओवादी पार्टीको उपमेयरका उम्मेदवार ज्योती लामिछानेले बेनी नगरपालिको समग्र विकाससहित महिलाको उत्थान गर्ने आफ्नो योजना रहेको बताउँदै अमुल्य मत दिएर जिताउन मतदातालाई आग्रह गरेकी छिन् ।कार्यक्रममा नेपाली काँग्रेस वडानम्बर ४ का वडाध्यक्ष उम्मेदवार मिनबहादुर बानियाँ र माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार भगवान खड्काले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस बेनी नगरपालिकाका सभापति अनोद श्रेष्ठको अध्यक्षता, नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य कुशल पौडेलको स्वागत र नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । काँग्रेस र माओवादीले सदरमुकाम बेनीबजारमा समेत घरदैलो अभियान गरेका छन् ।राष्ट्रिय जनमोर्चा म्याग्दीले पनि बेनी नगरपालिकाको सुर्केमेला, मालिका गाउँपालिकाको दुखु, दर्बाङ र रातढुङ्गामा घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको बताएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुखका उम्मेदवार छेमबहादुर विश्वकर्मा छवि, ६ नम्बर वडाका वडा सदस्य चित्रबहादुर विक, कार्यकर्ताहरु भीमबहादुर पर्टेल, प्रविन विकलगायतको सहभागीता रहेको थियो । त्यस्तै नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारद्वय फौजबहादुर कार्की, भोमकुमारी कार्की, कार्यकर्ता टिकाप्रसाद राना, प्रेम विक, लिला थापाले घरदैलो र भेटघाट कार्यक्रम गरेको जनमोर्चाले जानकारी दिएको छ ।यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले रत्नेचौरको अर्जममा घरदैलो र चुनाब प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । सो पार्टीबाट मेयरका प्रत्यासी नरबहादुर थापा, जिल्ला अध्यक्ष तिलकबहादुर थापा र अन्य कार्यकर्ताले चुनाबकेन्द्रीत कार्यक्रम गरेका थिए ।

विज्ञापन