बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका आइत बहादुर नेपाली सरकारी जग्गामा सानो टहरामा बस्छन् । दृष्टिविहिन नेपालीले दैनिक हातमा लौरो र हथौडा लिएर सार्वजनिक र ब्यक्तिगत रूपमा निर्माणधिन अवस्थामा रहेका घरमा आवश्यक पर्ने गिटी कुट्न जान्छन् । दुई छोराको शिक्षादिक्षा, विरामी श्रीमतिलाई उपचार र घरखर्च जुटाउन पूर्ण रुपमा दृष्टिविहिन भएपनि उनले गिटी कुटेर गुजरा चलाइरहेका छन् । विहान–बेलुकी हातमुख जोड्न समेत मुस्किल नेपालीलाई अहिलेसम्म चुनावी अभियानमा धेरै आश्वासन बाँडियो ।राम्रो बस्ने घरको ब्यवस्था, खानेपानी र छोरालाई निशुल्क शिक्षाका दिने प्रतिबद्धता जनाएपनि कुनैपनि पुरा भएको छ।

विगतका निर्वाचनमा नेपाली जस्ता जिल्लाका अधिकांस बस्तीमा भोट तान्न सफल भएका राजनीतिक दलका नेताहरू स्थानीय तहको निर्वाचनमा समेत घरदैलो अभियानमा छन् । ०६४को पहिलो र ०७० मा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा घरदैलो अभियान र आमसभामा वितरण गरिएका उधारो बाचाहरू पुरा नभएको गुनासो गरेका छन् । दलित र आर्थिक रुपमा कमजोर मतदातालाई निर्वाचित भएपछि केही महिनामै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएर फर्किएका दलका नेताहरू तीनबर्ष पछि पुनः गाउँमा फर्किएको बेनी नगरपालिका–४पुरुन्नेका दलित अगुवा टिकाराम परियारले बेनीअनलाइनलाई बताए ।

‘अहिलेसम्म गरिव जनतालाई चुनावमा आश्वासनबाटै भोट माग्न सफल भए । निर्णायक मत भएकाले पनि सबैको ध्यान त्यतै केन्द्रित हुन्छ’ उनले भने ।उनले निर्वाचनमा समुदायको आवश्यकता संगै ब्यक्तिगत लाभ देखाएर रातारात मत प्रभावित पार्ने प्रयास भइरहेको बताए । जिल्लामा आर्थिक अवस्था कमजोर, दलित तथा अति समस्यामा परेकालाई खानेपानीको पाईप, पैसा तथा अन्य पुरा गर्न मुस्किल आश्वासन दिने गरिएपनि एकदशकसम्म पुरानै समस्याबाट गुज्रिएका मतदाताले चुनावी अभियानमा गाउँ छिरेका दलका नेतालाई आक्रोश पोख्ने गरेका छन् ।

बेनी नगरपालिका र पाँच गाउँपालिकाका रहेको जिल्लाको अधिकांस बस्तीहरूमा आफ्नो पार्टीको नाममा मत सुरक्षित गर्न लाखौंको लगानीका सडक, खानेपानी, खेलकुद मैदान, झोलुङ्गे पुल लगाएतका आयोजनाहरू विस्तार गर्ने चुनावी प्रतिबद्धतालाई समेत पुरा नगरेपछि भोट माग्न गएका जनताले आक्रोशित भएका छन् । ‘हरेक चुनाव आश्वासन वितरण गर्ने माध्यम बनेका छन् । यो पक्कै गछौं भन्नेहरू अहिले अर्को चुनावमा मुख देखाउँछन’ मंगला गाउँपालिका–१ कुहुँ पैयूपाँटास्थित नरसिंह प्राविकी प्रधानध्यापक सुस्मिता बस्यालले भनिन् । उनले दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका जनतालाई अनावश्यक आश्वासन दिने गरिएको बताए ।

जिल्लामा गरिवीको रेखामुनी रहेका मतदातालाई सबैजसो दलले आफ्नो भोट बैंङ्क बनाउने गरेका छन्। विगतका चुनावमा दिएका आश्वासन पुरा नभएको भन्दै यसपटक स्थानीय तहको निर्वाचनमा दललाई समेत भोट माग्न हम्मेहम्मे परेको छ । बेनी नगरपालिका सहित जिल्लाका अति दुर्गम क्षेत्रका जनतालाई एकल तथा सामुहिक रुपमा देखाइएका प्रतिबद्धता कार्यान्वयन गरेमात्रै भोट हाल्ने जवाफ समेत दिन थालेपछि यसपटक जिल्लाको स्थानीय तहको निर्वाचनको मत परिणाम पेचिलो हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेताहरूलाई मतदाताले विगतका अधुरा आश्वासनलाई पुरा गर्न चुनावी आसभामै माग गरेपछि पहिलोपटक मतदान प्रक्रियामा सहभागि हुने मतदाताले समेत त्यसलाई सर्मथन गर्ने गरेका छन् ।

केही गाउँपालिकाका वडामा विगतका चुनावी सभामा गरिएका प्रतिबद्धतालाई यूवाले सामाजिक सञ्जालमा समेत पोख्न थालेपछि त्यसको सर्मथन गर्न मतदाताहरूको संख्या बढ्न थालेपछि दलहरूदलाई समेत समस्या भएको छ। जिल्लामा ७१ हजार ४६३ मतदाता मध्ये बेनी नगरपालिकामा १८ हजार ३४५, मंगला गाउँपालिकामा ११ हजार ५८, मालिका गाउँपालिका १० हजार ६४४, धौलागिरि गाउँपालिका ९ हजार ३३४, रघुगंगा गाउँपालिका ११ हजार ५६३ र अन्नपुर्ण गाउँपालिकामा १ जना तेस्रो लिङ्ग सहित १० हजार ५१९ मतदाता रहेका छन् ।