बेनी नगरपालिका: वडावडामा उद्योग स्थापनादेखि सिटी सेन्टर र सुपरजोनको महत्वकांक्षी प्रतिवद्धता

0

धु्बसागर शर्मा
म्याग्दीका तीन ठूला दलले बेनी नगरपालिकालाई ‘नमूना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेका छन् ।नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आकर्षित गरी आफ्नो पक्षमा भोट माग्नका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले यस्तो प्रतिबद्धता गरेका हुन् ।

नेपाली काँग्रेसले बेनी नगरपालिकालाई समृद्ध र नमूना नगरपालिका बनाउनका लागि नगरपालिकाका हरेक वडाहरुमा उद्योगहरुको स्थापना गरी रोजगारी उपलव्ध गराउने महत्वकांक्षी योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । त्यसैगरी नेकपा एमालेले वेनी नगरपालिकाका विभिन्न ठाउँमा सिटी सेन्टरहरुको स्थापना गर्नुका साथै गोठगोठमा नै पुगेर विरामी पशुको स्वास्थ्योपचार गर्नेसम्मको प्रतिवद्धता व्यक्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले उज्ज्यालो म्याग्दी र सुपर जोन सम्मको प्रतिवद्धता व्यक्त गरेको छ ।

कुल ७६ दशमलव ५७ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको,३३ हजार ४ सय ९८ जनसंख्या र १८ हजार ३ सय ४५ मतदाता रहेको बेनी नगरपालिकालाई समृद्ध र नमूना नगरपालिका बनाउन सकिने पर्याप्त संभावनाहरु रहेका नेकपा एमालेको तर्फबाट बेनी नगरपालिकाको मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले बताउनुभयो ।युवा पलायन र दक्ष जनशक्ति मुख्य चुनौति रहेको म्याग्दी जिल्ला र जिल्लाको केन्द्र मानिएको बेनी नगरपालिकामा अधिकांस ग्रामिणवस्तीहरु समेटिएका छन् ।

अझसम्म पनि शिक्षा,स्वास्थ्य,संचार लगाएतका आधारभूत सुविधाहरुसमेत उपभोग गर्न नपाएका जनताले दलहरुका महत्वकांक्षी प्रतिवद्धताहरुलाई ‘चुनाव जित्नका लागि काउले बोली’ भनेर अविश्वास जनाउने गरेका छन् । मतदाताहरुले दल र उम्मेदवारहरुलाई नारा र महत्वकांक्षी प्रतिवद्धता होइन सुशासन र जनतालाई सुविधा पुग्ने खालका पत्यारलाग्दा प्रतिवद्धता व्यक्त गर्न अनुरोध गदै चुनाव जितेपछि आफूले गरेका प्रतिवद्धता नभुल्न समेत आग्रह गरेका छन्।

१९ वर्ष पछि यही वैशाख ३१ गते संघीय संरचना अनुसार हुन लागेको स्थानीय तहको पहिलो निर्वाचनमा मतदान गर्नका लागि व्यग्र प्रतिक्षा गरिरहेका मतदाताहरुले निर्वाचन पछि, विकास भन्दा पहिला सुशासन र जनप्रतिनिधि भएको महशुस हुने गरी काम गर्ने उम्मेदवारलाई जिताउनु पर्ने प्रतिक्रिया दिएका छन् ।