नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी सभा घतानको न्याप्टेचौरमा

0

यही वैशाख ३१ गते हुनलागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धनका उम्मदवारहरुलाई विजयी गराउन आग्रह गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले मंगलवार बेनी नगरपालिका ९ घतानको न्याप्टेचौरमा संयुक्त आमसभा सम्पन्न भएको छ ।

मंगलवार नेपाली कांग्रेसको तर्फबाट वेनी नगरपालिकाको मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठ र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरका उम्मेदवार ज्योति लामिछाने सहित कांग्रेस र माओवादीको आयोजनामा न्याप्टेचौरमा आमसभा सम्पन्न भएको म्याग्दी कांग्रेसले जनाएको छ ।

चुनावी सभामा बोल्दै मेयरका उम्मेदवार श्रेष्ठले निर्वाचनमा आँफू विजयी भएमा बेनी नगरपालिकाका सबै वडाहरुलाई समान महत्व दिएर विकास निर्माणका योजनाहरु संचालन गर्ने र स्थानीय स्रोत साधनको अधिकतम प्रयोग र उपभोग गर्ने पद्यतीको विकास गर्न प्रयास गर्ने बताउनु भएको छ । बेनपा ९ घतानमा धार्मिक पर्यटन,कृषि,पशुपालन र वनपैदावरको प्रचुर संभावना रहेकोले आँफू नगरपालिकाको मेयरमा निर्वाचित भएमा यी संभावनाहरुवाट जनताले प्रत्यक्षरुपमा लाभ लिनसक्ने कार्यक्रमहरु ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नगरको समग्र विकासका लागि यहाँको जल,जमिन,जंगल,पर्यटन,संस्कृति र धार्मिक सम्पदाहरुको समुचित प्रयोग,व्यवस्थापन र विकासमा ध्यान दिनुपर्ने बताउँदै आफूले यिनै सम्पदाहरुमार्फत बेनी नगरपालिकालाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउने योजना ल्याउने दावी गर्नुभयो । उम्मेदवार श्रेष्ठले आँफू विधी र सुशासनमा विश्वास गर्ने व्यक्ति भएकोले झुठा आश्वासन दिन नजान्नेहुँदा मतदाताहरुले विवेक पु¥यार मतदान गरी दक्ष र योग्य जनप्रतिनिधिको चयन गर्न आग्रह गर्नुभएको थियो ।

त्यसैगरी उपमेयरका उम्मेदवार ज्योति लामिछानेले आफ्नो प्यानल विजयी भएमा बेनी नगरपालिकाको समग्र विकासका साथै महिला,दलित,पछाडी पारिएका व्यक्तिहरुको उत्थानका लागि सघाउ पुग्ने खालका कार्यक्रमहरु ल्याउने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजा,पूर्व सभापति डा.भूपेन्द्रवहादुर खड्का,नेत्रवहादुर महत,सदस्य अजयमिलन श्रेष्ठ,समरबहादुर थापा,दलित संघका बालकुमार लामिछाने लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वेनपा ९ का वडाअध्यक्षका उम्मेदवार तथा वडा सभापति चक्र केसीको अध्यक्षता,माओवादी केन्द्रका प्रतिनिधि कुशल पौडेलको स्वागत र निर्मल खत्र्रीको संचालनमा सम्पन्न भएको थियो ।

२०७४ वैशाख २६ गते साँझ ७ बजे धु्रबसागर शर्मा