(धु्बसागर शर्मा)
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्र बाँकी हुँदा पनि म्याग्दी जिल्लाका मतदाताहरु मतदान गर्ने प्रक्रिया थाहा नपाउँदा अन्योलमा परेका छन् ।२० वर्षपछि संघीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको पहिलो निर्वाचनमा पहिलो पटक मतदान गर्ने ग्रामिण भेगका युवायुवती,वृद्धवृद्धा मात्रै होइन २०७२ सालको संविधान सभाको निर्वाचनमा मतदान गरेका व्यक्तिहरु पनि एउटै मतपत्रमा धेरै जनालाई भोट हाल्नपर्ने हुँदा अलमलमा परेका हुन् ।

संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा मत दिएकाहरु अहिले एउटै मतपत्रमा सात मत दिन पाइन्छ भन्दा अन्योलमा पर्ने गरेका छन् । प्रचारप्रसारका लागि छोटो समय भएकाले दलहरुलाई पनि प्रत्येक घरमा पुगेर मत माग्ने र हाल्न सिकाउने समय छैन । स्थानीय निर्वाचन नभएको २० वर्ष पूरा भएकाले पनि मतदातामा स्थानीय जनप्रतिनिधिलाई मत हाल्ने तरिका थाहा हुन नसकेको हो । संविधानसभा निर्वाचनमा मतदाता शिक्षाका लागि सरकारी र गैरसरकारीस्तरबाट व्यापक रुपमा मतदाता जागरणका कार्यक्रम अघि सारिए पनि आसन्न निर्वाचनमा त्यस्तो हुनसकेको छैन ।

जिल्लाका सवै मतदाताहरुकहाँ अझैसम्म पनि मतदाता शिक्षा पुग्न सकेको छैन । बेनी नगरपालिका ३ का भीमवहादुर विकले अहिलेको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने अझै थाहा पाउन नसकिएको बताउनुभयो । आफू र आँफ्नो पार्टीका उम्मेदवारहरुलाई भोट माग्न जनताको घरदैलोमा पुगेका उम्मेदवार र दलका व्यक्तिहरुले पनि भोट कसरी हाल्ने भन्ने कुरा सिकाउने फुर्सद नपाउँदा मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने तरिका थाहा नपाएका हुन् । यसले गर्दा स्थानीय तहको निर्वाचनमा धेरै मत वदर हुने सम्भावना रहेको वताइएको छ ।

जिल्लाका दुर्गम स्थानमा मात्रै होइन सुगम ठाउँहरुका मतदाता पनि अन्योलमा रहेका छन् । दलहरुको चुनावी गठबन्धनले पनि मतदाताहरुलाई अन्योल थपिएको छ । ‘एउटै लाइनमा मत हाल्न पाइने भए केही फरक पर्ने थिएन’ बेनपा ४ का मतदाता याममायाँ किसानले भन्नुभयो । जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले समय अभावका कारण मतदाता शिक्षा स्वयं सेवकहरुले गरेको कामको अनुगमन गर्न नभ्याइएको र उनीहरुकै विश्वासमा छोडिएको बताउनुभएको छ । ‘कम मतदाता भएका ठाउँहरुमा मतदाता शिक्षा स्वयं सेवकहरुले घरघरमा नै गएर सिकाउने गरेका भएपनि बढी मतदाता भएका ठाउँहरुमा भने समस्या भएको हुनसक्छ’ निर्वाचन अधिकारी पौडेलले भन्नुभयो ।

रेडियो र टेलिभिजनका विज्ञापनमा मतदानको तरिका सिकाउन प्रशिक्षणप्राप्त मतदाता शिक्षक आउँछन् भन्ने जानकारी पाए पनि अहिलेसम्म भेट्न नसकिएको मतदाताहरुको गुनासो रहेको छ । अबको पाँच दिनमा निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिन सरल र सहज तरिका नअपनाए निर्वाचनमा धेरै मत बदर हुन सक्ने सम्भावना देखिएको छ ।त्यसैगरी उम्मेदवार र राजनीतिक दलहरुले पनि मतमाग्ने कार्यसंगै मतदाताहरुलाई मतदान गर्ने तरिका पनि सिकाउन आवश्यक देखिएको छ ।

विज्ञापन