स्थानीय तहको निर्वाचका लागि सदरमुकाम बेनीबाट मतदान अधिकृत, सुरक्षाकर्मी सहित निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको टोली परिचालन गरिएको छ। मुख्य निर्वाचनको कार्यालयबाट मतदान साम्रागी सहित टोलीलाई विदाई गरिएको छ ।

दुईदशक पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तपुर्ण वातावरणमा सम्पन्न गर्न, मतदाता परिचय पत्र वितरण, मतदानस्थलको आवश्यक तयारी, सुरक्षा ब्यवस्था मिलाउने लगाएतका कार्यहरूलाई बिहिबारभित्र सम्पन्न गर्ने समेत निर्देशन दिइएको छ । निर्वाचन सम्पन्न गर्नेका लागि आवश्यक तयारी सहित ग्रामिण क्षेत्रमा प्रस्थान गरेपछि जिल्लामा निर्वाचनको माहोल समते तातिएको छ ।

दलिय प्रचारप्रसारमा केन्द्रित रहेका राजनीतिक दलको प्रचारत्मक गतिविधि समेत अन्तिम चरणमा पुगेको छ । जिल्लामा विप्लप नेतृत्वको नेकपाको गतिविधिलाई मध्यनजर गरेर समेत सुरक्षा ब्यवस्था कडा बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको गस्ती सहित संवेदनशिल क्षेत्रलाई निगरानीमा राखेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।

जिल्लाको सम्रग अवस्था उत्साहजनक रहेको बताउँदै निर्वाचनलाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७१ हजार ४६३ मतदातालाई लक्षित गरी ७२ मतदानस्थल, १०२ मतदान केन्द्रमा सुरक्षाकर्मी, म्यादी प्रहरीको टोली बाहेक ५ सय ५० जना कर्मचारी खटाइएको छ ।